विवाह गर्ने प्रलोभन देखाउँदै करणी गर्ने पत्रकार कारागार चलान
प्रकाशित २०७५ असोज २२ सोमबार
350
Shares
नेपालगन्ज । बाँकेका एक पत्रकार बलात्कारको आरोपमा कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकेले पत्रकार दिक्षितलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
अदालतका न्यायाधीश रमानाथ पौडेलको ईजलासले दिक्षितलाई पुर्पक्षका लागि आइतबार कारागार चलान गर्न आदेश दिएको थियो । आफुलाई विवाह गर्ने प्रलोभन देखाएर विगत डेढ वर्षदेखी बलात्कार गर्दै आएको भन्दै एक युवतीले दिक्षित विरुद्ध असोज पहिलो हप्तातिर जिल्ला प्रहरी कार्यालय समक्ष जाहेरी दर्ता गराएकी थिईन् ।
बलात्कार आरोपमा दिक्षितमाथी किटानी जाहेरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहिया स्थायी घर भएका पत्रकार दिक्षित नेपालगन्जको एक दैनिक पत्रिकाको समाचार प्रमुख हुन् ।
पत्रकार महासंघ बाँकेको साधारण सदस्य समेत रहेका उनी नेपालगन्जको फुलटेक्रामा बस्दै आएका छन् । उनको सदस्यता निलम्बन गर्नुको साटो पत्रकार महासंघ बाँकेका पदाधिकारीले उल्टै संरक्षण गरिरहेको पत्रकारहरु बताउँछन् । महासंघले बलात्कारीलाई संरक्षण गरेको भन्दै बाँकेका पत्रकार विभाजित नै भएका छन् ।
विवाहित दिक्षितले सुरुदेखी नै विवाह गर्ने प्रलोभन देखाउँदै गत साउनको अन्तिमसम्म बलात्कार गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
पीडित युवतीले न्यायका लागि प्रहरी कहाँ जाने बताएपछि पत्रकार दिक्षितले केही समयअघि मिलाउने सहमती पनि गरेका थिए, तर सहमती अनुसार उनले युवतीलाई वास्ता नगरेपछि पुनः ती युवती प्रहरी कहाँ पुगेर जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।