काठमाडौं । जब देशको कार्यकारीले नै दुखेसो गर्छ तब विधिको शासन कत्तिको उल्लंघन भएको रहेछ भन्ने स्पष्ट हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तै गुनासो गरेका छन् ।
राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई नटेरेको गुनासो उनले गरेका हुन् ।
सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन नसकिएको लगायतका गुनासाका चाङहरु ओलीले राजपा नेताहरुलाई सुनाए ।
घुमाउरो शैलीमा ओलीले राजपासंग गरेका सहमति पनि पालना नभएको बताए । तर राजपाले भने छठसम्म माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिएको छ ।
ओलीले फेरि चलाखीपूर्वक दशैंसम्म नै माग पूरा गर्ने तर नयो मधेसवादी शक्तिहरुको पनि सरकार भएको भन्न भ्याए । अलि कडक रुपमा प्रस्तुत भएका राजपा अध्यक्ष महन्थ ठाकुरले आपसमा झुक्याउने र छक्याउने काम नगरौं माग पूरा गर्न छठसम्मकै समय भयो भनेका थिए ।
ओलीकै राजीनामा आउँछ कि ?
जब कसैले टेर्दैन तब नेतृत्वले सोच्छ कि मैले अब छाड्नु पर्छ । प्रधानमन्त्री ओलीले मुलुक अस्तव्यस्त हुँदासमेत कुर्सीमा बस्न पनि त नसुहाउला कि ।
उनलाई मन्त्रिपरिषदका कसैले टेर्दैनन् । प्रहरी प्रशासन टेर्दैन । कर्मचारी प्रशासन टेर्दैन भने उनी एक्ला छन् । फेरि उनले देखाएका सपना फगत सपना नै हुन् ।
देशमा व्याप्त बलात्कार, भ्रष्टाचार, हत्या, हिंसा रोकिएको छैन । यसमा गृह प्रशासन कमजोर भएको छ । ओलीले जे जे आश्वासन दिन्छन् त्यहीं त्यहीं ठूलो भ्वाङ परेको छ ।
कार्यकारीले विधिको शासन तोड्नेलाई कि त कार्वाही गर्नुपर्यो कि त पदबाट हट्नु पर्यो । के सोचिरहेका होलान् ओली । यो चासोको विषय भएको छ ।
ओलीमाथि पार्टी पनि लागेको पछिल्ला गतिविधिले देखाइरहेको छ । उनले नेकपाका नेता तथा कार्यकर्तालाई विपक्षीमाथि अरिंगाल जस्तै खनिएर एकतावद्ध हुन आग्रह गरेका थिए । तर मानेनन् । उल्टै उनै विरुद्ध गठबन्धन बनिरहेको छ ।
उनले विभिन्न समयमा आफूलाई असहयोग भइरहेको र गलत सूचना दिने गरिएको समेत गुनासो पोख्दै आएका छन् ।