arrow

चाड पर्वलाई मध्यनजर गर्दै रामपुरमा बजार अनुगमन

रानपाद्धारा किसानबारी र बिजयपुर बजारका १४ पसलमा अनुगमन, अखाद्य बस्तु नष्ट

logo
सीता डोटेल,
प्रकाशित २०७५ असोज २३ मंगलबार
palpa-pasal.jpg

पाल्पा । रामपुर नगरपालिकाले चाडवर्पको पुर्वसन्ध्यामा रामपुरका २ ठुला बजार अनुगमन गरेको छ । अनुगमन टोलीले किसानबारी र बिजयपुर बजार अनुगमन गरेको छ । चाडको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो ।

नगरपालिकाका नगर प्रमुख तथा अनुगमन समितिका संयोजक बिष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा इलाका प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ, बिभिन्न बिषयगत शाखा तथा पत्रकारको टोलीले किसानबारी र बिजयपुरका बिभिन्न १४ पसलमा अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा व्यवसाय दर्ता, नविकरण गरे-नगरेको, राजस्व तिरे-नतिरेको र म्याद गुज्रेको अखाद्य बस्तु लगाएतको अनुगमन तथा निरिक्षण गरेको थियो ।

अनुगमन टोलीले ५ वटा होटेल तथा रेष्टुरेन्ट, ४ वटा किराना पसल, भेटनरी, शैलुन, कस्मेटिक, मिठाई पसल र फेन्सीका एक-एक पसलमा अनुगमन गरेको अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताए। बजार अनुगमनलाई निरन्तरता दिने बताउदै अनुगमन समिति संयोजक आचार्यले नियम पुर्‍याएर व्यवसाय सञ्चालन गर्न व्यापारी व्यवसायीलाई आग्रह गरे । बजार अनुगमनको सिलसिलामा अनुगमन टोलीले १० किसिमका म्याद गुज्रेका खाद्य बस्तु भेटनरीबाट सुपर ब्राउण्ड ४ बट्टा र किसानबारीको एक होटेलबाट ३० लिटर अबैध मदिरा बरामद गरेको थियो ।

अनुगमन टोलीका सदस्य तथा इलाका प्रशासन कार्यालयका प्रमुख मधुसुदन भट्टराईले व्यवसायी संघमा दर्ता भएपनि धेरैजसो व्यापारी व्यवसायी स्थानीय निकायको दर्तामा नआएको भेटिएकाले पुर्णतया दर्ता गरि कागजात देखिने गरि पसलमा झुण्ड्याउन आग्रह गरे । दर्ता प्रक्रियामा नआएका २ बिभिन्न पसल समेत टोलीले बन्द गराएको थियो ।

 इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले किराना पसल र मदिरा जन्य पदार्थ एकै ठाउँमा राखेर बेचेको, मदिरा बेचबिखनको अनुमति नलिइकन बिक्री गरेको पाइएको र केही दिन अघि मात्र ल्याएका प्याकेटका खाद्य बस्तु समेत म्याद गुज्रिएको पाइएकोले फिर्ता गर्ने निहुँमा व्यापारीले राख्न खोजेपनि म्याद गएका सबै खाद्य बस्तु जफत गरिएको बताए।

उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले धेरैजसो व्यापारी संघले केही महिना अघि ल्याएको शिबिरका बखत दर्ता प्रक्रियामा आएको बताउदै दर्ता गरि बैध किसिमले व्यवसाय सञ्चालन गर्ने व्यापारीलाई आग्रह गरे। मानिसको जीवनमा सिधै असर पर्ने खालका म्याद गुज्रेका खाद्य बस्तु नराख्न र राख्दा समेत सचेत भएर आफुले पनि म्याद हेरेर राख्न उनले व्यवसायीलाई आग्रह गरे । बिक्री गर्ने सामानको म्याद हेर्नुस् भट्टराईले भने–म्याद गएको वा जान आटेको छ भने कम्पनी वा खरिद गरिएको पसलमा फिर्ता पठाइदिनुहोस् ।

व्यापारी सहित अबका सबै ग्राहक चनाखो हुनुपर्ने बताउदै वडा नम्बर ७ का वडाध्यक्ष तिर्थ प्रसाद पंगेनीले अब सामान किन्ने बेला कस्तो सामान किन्दैछु भन्ने हेक्का राखेपनि म्याद गुज्रेका बस्तु किनबेचमा धेरै हद सम्म कम हुने बताए ।

अनुगमनको क्रममा टोलीले इजाजत नलिइकन किराना पसलमा बिक्री गर्न राखेको ९ थान सोफी र सालु दादा १९ क्वाटर सहित म्याद ग्रुजेका एलिड कर्नफ्लर ५ प्याकेट, महिमा पकौडा पिठो १४ प्याकेट, लाली चिज बल २४ प्याकेट, मजा जुस १९ थान, क्याम्पाकोला १३ वटा, मौलिक चिजबल ४ प्याकेट, भेटनरीबाट सुपर ब्राउण्ड ४ बट्टा, डिडप प्लस १ बट्टा, मालाथियन २ बट्टा, करेन्ट मिक्स मसला ४० प्याकेट तथा ३० लिटर अबैध घरेलु मदिरा जफत गरि गरी सरोकारवालाहरुको निगरानीमा नगरपालिका परिसरमा नष्ट गरेको थियो ।

अनुगमन समितिका संयोजक एवं उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको संयोजकत्वमा बजार अनुगमनमा निस्केको टोलीमा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख मधुसुदन भट्टराई, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डे, रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई, नगरपालिका कृषि शाखाका प्रमुख रामहरी पाण्डे, पशुशाखा प्रमुख मोहन भट्टराई, स्वास्थ्य शाखाका संयोजक तिर्थ प्रसाद ढुङ्गाना, रामपुर अस्पतालका फार्मेसी निरिक्षक रामप्रसाद कोइराला सहित पत्रकार तथा सरोकारवाला अनुगमन टोलीमा सहभागी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ