arrow

‘चीन–अमेरिका व्यापारयुद्धले विश्व अर्थतन्त्र धरापमा’

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
trade-war.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिका र चीनको बीचमा जारिरहेको व्यापारयुद्धले विश्वको अर्थतन्त्र थप कमजोर र जोखिमपूर्ण बन्दै जाने चेतावनी दिएको छ । विश्व अर्थतन्त्रको विषयमा सार्वजनिक गरेको पछिल्लो विवरणमा आईएमएफले यस्तो बताएको हो । 

आईएमएफले यस वर्ष र आगामी वर्षको लागि विश्वको आर्थिक वृद्धिदर यसअघि अनुमान गरिएको तुलनामा केही कमजोर रहनसक्ने बताएको छ । उसले दुई मुलुकको व्यापारयुद्धले आर्थिक सुधारको लागि ठुलो समस्या सिर्जना गरेको बताएको छ । आईएमएफका प्रमुख अर्थविद्ले व्यापारिक हिसाबमा देखिएको यस किसिमको नतिजाले आगामी दिनमा घरेलु अर्थतन्त्र तथा व्यवसायमा नकारात्मक किसिमको असर पर्नसक्ने बताएका छन् । जसको कारण विश्व अर्थतन्त्र नै समस्यामा पर्नसक्ने अधिकारीहरुको भनाइ छ । 

अर्थतन्त्रको कारण केही मुलुकहरुको राजनीतिमा पनि व्यापक परिवर्तन आउनसक्ने बताइएको छ । गत महिना अमेरिकाले चीनमाथि दुई खर्ब डलरका सामग्रीहरुमाथि करवृद्धिको निर्णय गरेको थियो । चीनले पनि अमेरिकाबाट आउने ६० अर्ब डलरबराबरको सामग्रीहरुमा करवृद्धिको निर्णय गरेको थियो । 

विश्वको आर्थिक वृद्धिदरमा कस्तो असर ? 

विश्वको आर्थिक वृद्धिदर सन् २०१८ र २०१९ को लागि ३.७ प्रतिशत रहने अनुमान गरिएको छ । यसअघि गत जुलाई महिनामा ३.९ प्रतिशतमा रहने अनुमान गरिएकोमा पछिल्लो समय देखिएको व्यापारिक समस्याको कारण आर्थिक वृद्धिदर केही कमजोर रहनसक्ने अनुमान गरिएको हो । आईएमएफले छोटो अवधिको नतिजालाई आधार मान्ने हो भने विश्वको आर्थिक क्षेत्र गिरावटको क्रममार रहेको बताएको छ । युरोक्षेत्रको सुस्तगतिको सुधारका साथै तीव्र गतिमा विस्तार भइरहेका मुलुकहरुमा देखिएको समस्याको कारण विश्व अर्थतन्त्र कमजोर बन्नसक्ने आईएमएफले बताएको छ । 

चरम आर्थिक संकटमा रहेको भेनेजुयलाको अर्थतन्त्रमा सन् २०१९ मा लगातार छैठौं वर्षको गिरावटमा पर्नसक्ने विवरणमा उल्लेख गरिएको छ । साथै अर्जेन्टिनाको अर्थतन्त्रमा पनि सन् २०१८ र २०१९ मा गिरावट आउनसक्ने अनुमान गरिएको छ ।

व्यपाारयुद्ध कति नराम्रो ?

अमेरिका र चीनबीच चलिरहेको करवृद्धिको प्रतिस्पर्धाले दुवै मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्नसक्ने देखिएको छ । सन् २०१९ मा अहिलेको व्यापारयुद्धको परिणाम दुवै मुलुकहरुमा देखिनेछ । विश्लेषकहरुले अहिलेको अवस्थामा सुधार गर्न नसकेको खण्डमा आगामी दिनमा विश्व अर्थतन्त्र थप कमजोर हुँदै जाने बताएका छन् । 

व्यापारयुद्धको सबैभन्दा नकारात्मक असर भने अमेरिकाको अर्थतन्त्रमा देखिने विश्लेषकहरुको भनाइ छ । सन् २०१९ मा चीनको अर्थतन्त्र पनि पाँच प्रतिशतभन्दा कमजोर रहनसक्ने अनुमान गरिएको छ । आगामी वर्षको लागि ६.२ प्रतिशतको आथिक सुधारको अनुमान गरिएकोमा सो भन्दा पनि केही कमजोर नतिजा हासिल हुनसक्ने बताइएको हो । 

ब्रेजिक्ट र बेलायतको अर्थतन्त्र कस्तो ? 

बेलायतको अर्थतन्त्रमा यस वर्ष १.४ प्रतिशतको सुधार आउनसक्ने अनुमान गरिएको छ । आगामी वर्षको लागि भने उसको अर्थतन्त्रमा १.५ प्रतिशतको सुधार हासिल हुनसक्ने अनुमान गरिएको छ । आईएमएफले कुनै सम्झौता विना नै बेलायत ईयूबाट बाहिरिएको खण्डमा भने उसको अर्थतन्त्र जोखिममा पर्नसक्ने बताइएको छ । आईएमएफले मुद्रास्फीतिदर सन्तुलित अवस्थामा राख्नका लागि बेलायतको लागि व्याजदर बढाउनुपर्ने आवश्यकता अबको केही वर्षमा देखिने बताएको छ । त्यसको लागि अहिलेदेखि नै बेलायतलाई आर्थिक अवस्थामा सुधार गर्नुपर्ने चुनौती रहेको बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ