काठमाडौ–७ बाट वामदेवलाई जिताउने भए ओलीले प्रचण्डलाई चिड्याउनु घातक
माधव नेपाललाई ठुङे झन् बज्रपात, यस्तो छ अंक गणित
प्रकाशित २०७५ असोज २३ मंगलबार
661
Shares
काठमाडौं । संसद र सत्तामा पुग्ने नेपालमा जस्तो सजिलो अन्त कहाँ ? नागरिकको चाहाना अनुसार राजनीति भएको पनि कहाँ छ र ? नेपालमा । जनचाहाना सम्बोधनका लागि एउटै निर्वाचन प्रणाली र वैचारिक राजनीतिक ध्रवीकरण चाहिन्छ भन्ने विद्वानहरु पनि नेपालमै छन्, यो मुलुक छोडेर अन्त भाग्न सकेका छैनन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ, भनी हिजो संविधान जारी हुँदा रिजर्वेसन राख्नेहरु अहिले नबोलौँ भनी पञ्छिरहेका छन् ।
यसअघि दुई तिहाई सरकारको स्वाद लिइसकेको नेपाली समाज फेरि दुई तिहाईको चक्करमा फस्यो । नयाँ संविधानले व्यवस्था गरेको चुनाव समयमा गराइएन । नयाँ संरचनामा गरिएको निर्वाचन संवैधानिक आयोगलाई तरबार देखाएर लोकतान्त्रिक मूल्य मान्यताहरुलाई कोमामा राखेर गरियो । त्यही दुई तिहाईको पर्दाले छोपिएकै हो, चुनाव अघि र पछि भएका खेलखण्डहरु ।
चुनाव अघि एउटा शक्तिले आफ्नो अस्तित्व खोज्दै एउटा खुट्टा ढोका बाहिर एउटाभित्र राखेकै हो । त्यो हो, प्रचण्ड शक्ति । विगतमा गरेका र गर्दै जाने खेलखण्डलाई पाँच वर्ष दुईतिहाईको पर्दाले छोप्न सकिने सोचेरै गठबन्धनको जुक्ति निकालेको हो, प्रचण्ड शक्तिले । एउटा खुट्टा ढोकाबाहिर र एउटा खुट्टा ढोकाभित्र राख्ने प्रचण्ड शक्तिलाई हाइसिक्रेट सुनाइसकेको ‘अलपत्र’ शक्तिले त्यसको प्रतिक्रिया स्वरुप लोकतान्त्रिक गठबन्धन बनायो । त्यसको प्रभावकारीता देखिएन । प्रचण्ड शक्ति झन शक्तिशाली भयो । निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई मिल्यो ।
अन्ततः पार्टी एकताको नाटक पनि पूरा भयो । तर, त्यो गठबन्धन अपवित्र थियो भन्ने कुरा अहिले आफै खुल्दै गएको छ । चुनाव ताका निकालिएको जुक्तिले छोप्न खोजिएका कर्तुत पाँच वर्ष नढाक्ने पक्का पक्की नै भयो । त्यसका लागि अर्को नाटक मञ्चन गरियो । वामदेवको संसद आरोहण ।
संघीय राजधानीबाहिरका जिल्लाबाट वामदेवलाई संसद आरोहण गराउने असम्भव देखेपछि विकल्प खोजियो । पहिले नरुचाइएका वामदेवको आवश्यकता खट्कियो, अहिलेको सत्ताधारी पार्टीका अध्यक्ष तथा मुलुकका कार्यकारीलाई ।
एकताका, वामदेवलाई पञ्छाउन अहिलेकै प्रधानमन्त्री ओली समूहले नै बर्दियामा हराएको चर्चा पनि चल्यो । तर, वामदेव चर्किएनन् । कुरिरहे ।
अहिले वामदेवलाई सांसद बनाउन प्रधानमन्त्री ओलीले नै पहल कदमी लिएको बुझिन्छ । प्रतिनिधिसभाको निर्वाचनमा वामदेव बर्दियाबाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमसँग हारेका थिए ।
विगतमा प्रचण्ड शक्तिले धोका दिँदा वामदेवलाई प्रधानमन्त्रीको उम्मेदवारका लागि तयार गरेका ओलीले बर्दियाबाट किन हराए होलान् ? यो निकै सोचनीय विषय छ । कतिपयले यसको अर्थ, ओलीले आफू प्रधानमन्त्री बन्ने सजिलो बाटो खोजेको भनेर पनि लगाउँछन् ।
वामदेवलाई हराउन ओली खेमाले निकै नै मेहनत गरेको चर्चा भएकै हो । वामदेव ध्वस्त भएकामा केहीले खुसीयाली पनि मनाए । वामदेवले छानबिनको माग पनि गरे । तर, केही सीप लागेन । पार्टीभित्र ओलीलाई टक्कर दिने र हाकाहाकी ठाड्–ठाडै कुरा गर्न सक्ने एकमात्रै नेता हुन् भनेर भन्दछन्, नेकपाकै नेताहरु । वामदेव चुनावबाट खुम्चिएपछि ओली निर्विकल्प प्रधानमन्त्री भए पनि भनिन्छ । पहिले प्रचण्डतिर मिलेको भनेर वामदेवलाई ओलीले रुचाउँदैन थिए, भन्नेहरु पनि नेकपाभित्रै छन् ।
तर, अहिले वामदेवको खोजी कसले ग¥यो ? यो निकै रहस्यको विषय छ । एमाले र माओवादी केन्द्रको पार्टी एकताका सूत्रधार भनिएको छ, उनलाई । पार्टी एकताको सुत्रधार भएकैले पार्टीभित्र खोजी भएको हो ? वा अरु कुनै प्रयोजनको लागि ? त्यो पनि गर्भमै छ ।
केहीले यस्तो आँकलन पनि गरेका छन्, ‘नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको असहयोग बढेकाले ओलीले वामदेवलाई विकल्पका रुपमा हेर्न थालेका हुन्।’
योबीचमा दाहालले भारत र चीन भ्रमण गरे । उनको त्यो भ्रमण आफू सत्तामा पुग्ने भर्याङ मजबुद पार्ने प्रयोजनका लागि भएको र सिंगापुरमा बसेर भविष्यको ग्राण्ड डिजाइन बुनेको ओलीको शंका छ ।
यस्तै, माधव कुमार नेपालले पनि विदेशका चक्कर खुब लगाए । उनी समेत चीन पुग्न भ्याए । पछिल्लो समय नेता नेपालले ओली नेतृत्वको सरकारले देशमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार लगायतमा नियन्त्रण गर्न नसकेको भन्दै संसदमै असन्तुष्टिमात्र जनाएनन् । एउटा पुरानो कविता सुनाएर शंसय सिर्जना गरिदिए ।
तर, ओलीले आफुविरुद्ध पार्टीभित्र र बाहिरबाट हुन लागेको प्रहारलाई रोक्न वामदेव गौतमलाई रोजेका हुन् भने, उनले प्रचण्डलाई चिड्याउन छोड्नु पर्ने भएको छ । उनले काठमाडौं ७ बाट वामदेवको संसद आरोहण खोजेका हुन्, भने वामदेवलाई जिताउन प्रचण्डलाई फकाउनै पर्ने छ । नभए उनले रामवीरसँगै वामदेवलाई ‘शहीद’ बनाएको ठहरिने छ ।
प्रचण्डलाई चिड्याउन नहुने कारण ?
काठमाडौं क्षेत्र नम्बर ७ बाट तत्कालीन एमाले उम्मेदवार रामवीर मानन्धर विजयी भए । मानन्धरले राप्रपाका थापालाई ८ हजारको फराकिलो मतान्तरले हराए । मानन्धर १८ हजार १०२ मत ल्याए । थापाले १० हजार ७९ मतमात्रै पाए । विवेकशील साझा पार्टीकीकी अनुपा श्रेष्ठले ५ हजार ३ सय ७६ मत ल्याइन् ।
कांग्रेसले उम्मेदवार नउठाएपछि मानन्धरलेले दोस्रो पटक बाजी मारे । यसअघि २०७० को संविधानसभा चुनावमा कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमीलाई हराएका थिए, उनले । उनको इतिहास पनि बलियो नै थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा दुई पटक वडाध्यक्ष निर्वाचित भएका थिए, उनी ।
रामवीर स्थानीय भएकैले पनि अब्बल उम्मेदवार हुन् । वामदेव काठमाडौ ७ का लागि नौलो हुन् । पार्टीको केन्द्रीय तहमा अब्बल ठहरिएपनि गौतमलाई रैथानेहरुले रुचाउन समय लाग्नेछ । त्यसका लागि पुष्पकमल दाहालकै साहारा लिनुपर्छ, भन्छन् जानकारहरु ।
अंक गणितका कारण पनि प्रचण्डलाई फकाउनु पर्ने
काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडा काठमाडौं ७ (क)मा छन् । ७ (ख) मा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर वडा र नागार्जुन नगरपालिकाका १, २ र ३ नम्बर वडा छन् । नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत छन् । उनले ६ हजार ९ सय ६१ मत ल्याएका थिए ।
प्रतिस्पर्धी एमालेका कृष्णहरि खत्रीले ६ हजार ७ सय ३६ मत ल्याए । उपमेयर भने तत्कालीन एमालेकै सुशिला अधिकारी विजयी भइन् । उनले ६ हजार ८ सय ७१ र प्रतिस्पर्धी कांग्रेसकी कल्याणी खड्काले ६ हजार ७ सय ९१ मत प्राप्त गरिन् । १० वटा वडा रहेको नागार्जुनमा कांग्रेसले ५ वटा वडा जित्यो । एमालेले चार वटा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा वडामा जित हासिल गरेको थियो । तत्कालीन एमालेले १ देखि ४ नम्बर वडा जित्यो भने राप्रपाले ५ नम्बर वडा जित्यो । बाँकी कांग्रेसको पोल्टामा गयो ।
महानगरतर्फ १६, १७ र २५ वडा कांग्रेसले जित्यो भने १८ नम्बर वडामा मात्रै एमाले विजयी भयो । तारकेश्वर नगरपालिकामा एमालेले मेयर–उपमेयर दुवै जित्यो । एमालेका रामेश्वर बोहरा ९३२६ मतसहित मेयर निर्वाचित भए ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा एमालेले मेयर–उपमेयर नै जित्यो ।
एमालेका रामेश्वर बोहरा ९ हजार ३ सय २६ मतसहित मेयर निर्वाचित भए । कांग्रेसका श्रीराम थापाले ७ हजार ७ सय ५७ मत पाएको पाए । उपमेयरमा एमालेकै भवानी डोटेल ९ हजार ७ सय ४६ मतसहित विजयी भइन् भने उनकी निकटम प्रस्पर्धी गीता न्यौपानेले ६ हजार ६ सय २० मत पाइन् । तारकेश्वरमा एमालेले नगरपालिकाका ११ मध्ये ९ वडा जितेको छ भने कांग्रेसले दुई वडा र एक जना वडा सदस्य जित्यो ।
काठमाडौं ७ मा पाएको मतः कसको कति ?
काठमाडौं ७ भित्र पर्ने महानगरका चार वटा, नागार्नुन र तारकेश्वरका ६ वटा वडामा पाएको मतको कुरा गर्दा, एमालेले स्थानीय निर्वाचनमा १३ हजार ८ सय ३५ मत र कांग्रेसले १२ हजार ६ सय ४६ मत पाएको छ । माओवादीले ३४ सय ४१ मत पाएको छ । राप्रपाले २१ सय मत मात्रै पाएको छ । यही अंक गणितले वामदेवको भविष्य निर्धारण गर्ने छ ।
काठमाडौं महानगरका सात नम्बर निर्वाचन क्षेत्रमा पर्ने वडाहरुमा कांग्रेसले ८ हजार ९ सय ५८ सय मत ल्याएको छ । एमालेले ८ हजार ६ सय ५३ मत ल्याएको छ । माओवादीले २३ सय ३ मत ल्याएको छ । राप्रपाले भने जम्मा ९ सय ८० मत ल्याएको छ । तारकेश्वर नगरपालिकाको ३ नम्बर वडा कांग्रेसले जितेको छ । ४ र ५ नम्बर वडा एमालेले जितेको छ । जहाँ कांग्रेसको कूल मत २४ सय ४४ छ भने एमालेको कूल मत ३३ सय ४५ छ । माओवादीको मत ५ सय ९ रहेको छ । राप्रपाको मत चाहिँ १ सय ८० रहेको छ ।
काठमाडौं ७ मा पर्ने नागार्जुन नगरपालिकाको तीन वटै वडा अध्यक्ष एमालेले जितेको छ । यहाँ एमालेको १८ सय ३७ मत छ । कांग्रेसको मत १२ सय ४३ रहेको छ । माओवादीको मत ६ सय २९ छ भने राप्रपाको मत ९ सय ३५ रहेको छ । यो मतको हिसाब गर्दा काँग्रेसको तत्कालीन एमालेसँग ११ सय ८९ मतको मात्रै फरक छ ।
तत्कालीन माओवालीको ३४ सय ४१ मत छ । यो मत रामवीरले त पाए, तर वामदेवले पाउने कि नपाउने भन्ने विषय दाहाल र ओलीबीचको सम्बन्धमा पर्ने छ । अर्कोतिर, ओलीले दाहाल र माधव नेपाललाई चिड्याए वा विपक्षीले बलियो उम्मेदवार उठाए वामदेवको भावी राजनीति समेत धरापमा पर्नेछ । त्यसकारण दाहाललाई चिड्याउनु पहिलो घात हुनेछ भने, माधव नेपाललाई ठुङ्न खोजे बज्रपात नै हुनेछ ।