रामवीरले भने–‘काठमाडौं–७ मा वामदेवको जित पक्का, घरदैलोमा मै खटिन्छु’
भित्रि पाटाे : ‘ओलीलाई टिकाउने बाटाे'
प्रकाशित २०७५ असोज २३ मंगलबार
831
Shares
काठमाडौं । एकाएक चर्चामा आएको काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले पूर्व उपप्रधानमन्त्री एवं नेकपाका नेता वामदेव गौतमलाई जिताएरै छोड्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी पनि अब वमदेवलाई जिताएरै छोड्छौँ । त्यसका लागि म आफैँ लाग्छु ।’ मंगलबार उनले संघीय राजधानी काठमाडौंमा आफै पत्रकार सम्मेलन गरे । उनले विकासका लागि आफूले सांसद पद छोड्न लागेको जिकिर समेत गरेका छन् । वामदेवले जित्ने आधार के छ ? भनि पत्रकारले गरेको प्रश्नको जवाफमा उनले ‘त्यहाँ हाम्रो पार्टीको संगठन छ । म उहाँलाई जिताउन लाग्छु’ भने ।
मानन्धरले त्यति मात्रै भनेनन् । उनले, वामदेवलाई जिताउन घर–घरमा पुग्ने बताए । ‘घरघरमा गएर जनातालाई सम्झाउँछु । पार्टी संगठनलाई सम्झाउँछु’, उनले अगाडि थपे, ‘हार्ने सम्भावना नै छैन । काठमाडौं ७ मा वामदेवको जित पक्का छ ।’ वामदेव त पाहुना हुन् नी ? जवाफमा उनले भने, ‘अहिले विकासको कुरा गरिरहेका बेला । जातजाति, रैथाने वा पाहुनाको कुरा उठ्दै क्या । यस्तो कुरा कसैले गर्नु हुँदैन । मैले सँधै जितेको भनेको पार्टी संगठनले हो । वामदेव गौतमको हकमा पनि त्यही लागू हुन्छ । जित पक्का छ ।’
यस्तै, उनले आफुले पार्टी छोडेको होइन भनि प्रष्टिकरण दिदै सांसद पदमात्र सम्मानित नेतालाई चुनावका माध्यमबाट दिन चाहेको सुनाए । मानन्धरले, ‘मैले पार्टी छोडेको छैन । म विकासका लागि अघि बढेको छु । जनताको अपेक्षा विकास निर्माण हो । त्यसका लागि स्थिरता चाहिन्छ । देश बनाउने आधारका लागि मान्छेको खोजी हुन्छ । त्यसैले पद छोड्न लागेको हुँ’ भने । यसबाट उनले एउटा कुरा संकेत गरेका छन् । ‘नयाँ परिस्थिति निर्माण हुन लाग्यो । नेतृत्वकै लागि मुलुक फेरि अस्थिर बन्ने भयो ।’ यहाँनेर ओलीको विकल्प खाेज्ने शक्तिलाई राेक्न वामदेवलाई ल्याउन खोजिएको गुञ्जायस देखिएकाे छ ।
उनले वामदेव निर्वाचित भएपछि काठमाडौं ७ मा विकास हुने उनको भनाई छ । यही सन्दर्भमा उनले वामदेवको इतिहास हेर्न समेत आग्रह गरे । उनले निर्वाचन क्षेत्र छोड्न कुनै लेनदेन नभएको बताएका छन् । सोमबार सांसद मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेका थिए ।
नेकपामा नेताबीच बढेको कलह मिलाउन र पार्टी एकतालाई तल्लो तहसम्म लैजान भनी बसेको सचिवालय बैठकमा दाहालले वामदेवका लागि रामवीरले सांसद पद त्याग्न तयार भएको पत्र प्रस्तुत गरेका थिए । रामवीरलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने आश्वासन दिएर फकाइएको कुरा समेत आएको छ ।