arrow

काठमाडौं ७ निर्वाचनः नेकपा–कांग्रेस हैन लोकल भर्सेस वामदेव लडाइँ

टुरिष्टले विकास नगर्ने निष्कर्ष

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
bamdev-vs-local.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभामा निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले वामदेव गौतमलाई संसदमा पुर्याउन पदबाट राजीनामा दिएपछि नेपाली राजनीतिमा फरक मोड आएको छ । 

नेकपाभित्र अध्यक्ष केपी शर्मा ओलीको पल्ला भारी भइरहेको आभास पनि दिलाइएको छ भने अर्कातिर ओलीले नै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई माइनस गर्नलाई रामवीरलाई ब्याक गराएर वामदेवलाई अगाडि सार्न खोजेको पनि बताइन्छ । 

तर रामवीरको संकेत भने प्रचण्डबाट प्रेरित भन्ने बुझिन्छ । रामवीर ओलीका मान्छे भए पनि पछिल्लो समय प्रचण्डबाट प्रेरित छन् र प्रचण्ड वामदेवलाई अगाडि सार्न चाहन्छन् । 

यसअघिका डोल्पादेखि नवलपरासीसम्म नेकपाका सांसदले त्याग गर्न खोज्दा ओलीले रोकेका थिए भने यसपटक रामवीर कसरी माने ? 

यो प्रश्नको जवाफ आउने नै छ तर रामवीरले छाड्दा एकाएक काठमाडौं ७ मा नेकपा भर्सेस नेपाली काँग्रेस वा राप्रपा वा विवेकशील भन्ने नरहेको विष्लेषण गर्न थालिएको छ । 

मंगलबार रातिसम्म नै अबको काठमाडौं ७ को लडाइँ लोकल भर्सेस वामदेव भएको स्थानीयहरुले बताएका छन् । 

अर्थात् वामदेवलाई हराउन नेकपादेखि काँग्रेससम्मका कार्यकर्ताहरु मिल्ने र लोकललाई चुनावमा जिताउने । 

७ नम्बर नेवार समुदायको पकड भएको क्षेत्र हो । लोकल जो उम्मेदवार खडा हुन्छ उसैले जित्छ भन्ने विश्लेषण गर्न थालिएको छ । 

मंगलबार मात्रै नेवार समुदायका दुई समूहले निकै गम्भीर छलफल गरेका छन् । उक्त छलफलले पार्टीभन्दा पनि स्थानीयमा जोड दिएको छ । 

रामवीरलाई ०५४ सालको स्थानीय तहको निर्वाचनदेखि नै साथ दिएकाहरु एकाएक भड्किएका छन् । उनीहरुले अब रामवीरको विकल्पमा वामदेवलाई भोट नखसाल्ने निर्णय गरेका छन् । 

टुरिष्टले विकास नगर्ने निस्कर्ष निकाल्दै नेकपाका कार्यकर्ताहरु समेत भड्किएका छन् । 

नेकपाका कार्यकर्ताले रामवीरबाट धोका पाएको समेत आक्रोश पोखेका छन् । 

काँग्रेसमा पनि लोकल खोज्न दवाव
स्थानीयहरुले पार्टीबाट लोकल उम्मेदवार खोज्न आग्रह गरिरहेका छन् । वामदेवले टुरिष्ट शैलीमा उम्मेदवार बन्ने भाग्य लिएर आएपछि काँग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य डा रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मासम्मको नाम जोडिएर आएको छ । 

काँग्रेसका स्थानीय नेताहरु भने जुनसुकै स्थानीय नेवार नेतालाई उम्मेदवार बनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले यदि स्थानीय उम्मेदवार भएन भने विद्रोह हुने संकेत समेत गरेका छन् । 

शर्माले भने आफ्नो क्षेत्र छोडेर काठमाडौं नआउने मात्र बताएका छैनन् अरुलाई पनि सोही सन्देश दिएका छन् । 

काँग्रेसले ०७४ को निर्वाचनमा राप्रपालाई सहयोग गरेको थियो । यसपटक आफै चुनाव लड्ने मनस्थिति बनाएको बुझिएको छ । 

राप्रपाको स्थिति 
राप्रपाका विक्रम थापा ०७४ को निर्वाचनमा काँग्रेसको समर्थनसहित उठेका थिए । तर उनले हारे । त्यो पनि फराकिलो मतले । 

रामवीरले १८१०२ मत ल्याउँदा विक्रमले १००७९ मत पाएका थिए । विवेकशील साझा पार्टीकी अनुपा श्रेष्ठले ५३७६ मत पाएकी थिइन् । 
राप्रपाले केही निर्णय गरेकै छैन । थापाले समेत केही बोलेका छैनन् । काँग्रेस र राप्रपाको चुनावी गठबन्धन कतै पनि सफल नभएकाले यसपटक राप्रपासंग काँग्रेसको कुनै पनि साझेदारी नहुने स्पष्ट छ । 

काँग्रेसको मत राप्रपा र विवेकशीललाई बाँडिएको बुझिन्छ । 


विवेकशील के गर्ला ? 
विवेकशील साझा पार्टीले ०७४ को निर्वाचनमा राम्रो मत पाएको थियो । अनुपा श्रेष्ठले ५३७६ मत पाउनुलाई राम्रै मानिन्छ । 

उनी लोकलमात्र हैन नेवार समुदायकै हुन् । यसपटक विवेकशीलले उनलाई नै दोहोर्याउने सम्भावना छ । 

तर रविन्द्र मिश्र आउने सम्भावना पनि उत्तिकै रहेको बुझिन्छ । पार्टीले निर्णय नगरिसकेको अवस्थामा अनुपा महिला तथा लोकल भएका कारणले दोहोरिन सक्ने सम्भावना पनि छ । 

तर अनुपाले जित्नका लागि काँग्रेस र राप्रपाको मत भने आवश्यक पर्छ । 

क्षेत्र ७ का स्थानीय नेताहरु अहिले दलविशेषमा नगई स्थानीय जो नेता वामदेव विरुद्ध उठ्छ उसैलाई भोट हाल्ने मनस्थितिमा छन् । 

वामदेवलाई क्षेत्र ७ निकै भारी हुने समेत अनुमान गरिएको छ । वामदेव टुरिष्ट भएको भन्दै विकासका लागि टुरिष्ट हैन लोकल नै चाहिन्छ भन्ने आवाज आइरहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ