काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः काठमाडौं क्षेत्र नम्बर ७ बाट ब्याक भएका छन् । जसरी पनि प्रतिनिधिसभामा आएर प्रधानमन्त्री बन्ने दावेदारीलाई फराकिलो बनाउने लक्ष्यसहित उत्रिएका वामदेव काठमाडौं ७ मा चर्किएको विवाद र नेकपाका शीर्ष नेताहरुबीच नै आपसी तालमेल मिल्न नसकेपछि वामदेव ब्याक भएका हुन् ।
डोल्पादेखि सुरु भएको उनको सांसद बन्न उनलाई सघाउने सांसदहरु खोजी गर्ने क्रम काठमाडौं ७ मा आएर टुंगिएको छ । काठमाडौं ७ का तत्कालीन एमाले सांसद रामवीर मानन्धरले गौतमलाई ठाउँ खाली गर्न भन्दै राजीनामा दिने घोषणा गरे पनि अन्ततः जताततैको चर्को विरोधले वामदेव पनि अगाडि बढ्न सकेनन् र रामवीरको बार्गेनिङ पनि थन्किएको छ ।
जनस्तरमा वामदेव र रामवीरको तीव्र आलोचना भएपछि पार्टीको हाइकमान्डले यसलाई अगाडि बढ्न नदिने भएको हो । त्यसैगरी बिहीबार वामदेवले नै अगाडि नबढ्ने संकेत गरेका हुन् ।
महासचिव विष्णु पौडेलले परिस्थिति अनुकुल नभएको भन्दै वामदेवलाई ब्याक हुन सुझाएका थिए । त्यसबाहेक वामदेवलाई आउन नदिने शक्ति पनि सक्रिय भएको थियो ।
त्योसंगै यो मुद्धा सेलाउने देखिए पनि त्यसले ल्याएको तरंग भने लामो समयसम्म रहने छ ।
प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएका वामदेव जसरी पनि सांसद हुनुपर्छ भन्ने मुडमा थिए भने उनलाई उचाल्नेहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अग्रस्थानमा थिए ।