पाल्पा। ईलाका प्रहरी कार्यालय रामपुरले शुक्रबार २ सय ५० लिटर भन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको छ। रामपुर क्षेत्रका विभिन्न स्थानका पसलमा बिक्री गर्न राखिएको अबैध मदिरा नियन्त्रणमा लिएर सरोकार वाला निकायको रहोवरमा नष्ट गरेको हो।
अवैध मदिराजन्य पदार्थ मुक्त समाज निर्माण गरि दिगो शान्ति सुव्यवस्था कायम गर्ने लक्ष्यका साथ प्रहरीले सुरु गरेको अभियान अन्तर्गत रामपुर नगरपालिका वार्ड नं ३ रजघरा र वार्ड नं ५ का विभिन्न होटेलहरु बाट नियन्त्रणमा लिएको मदिरा प्रहरी कार्यालय परिषरमा नष्ट गरेको थियो। इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयको नेतृत्वमा खटिएको प्रहरी टोली र प्रहरी चौकी केलादीबाट खटिएको टोलीले मदिरा बरामद गरेको थियो।
विक्री वितरणमा संलग्नहरुलाई मदिराको सेवन पश्चात मानिसको शरीरमा पुर्याउन सक्ने शारीरिक, मानसिक, पारिवारिक र आर्थिक असर बारेमा प्रहरीले प्रशिक्षण सहित अव विक्री नगर्न सचेत समेत गराएको छ।
ईलाका प्रहरी कार्यालय रामपुर परिसरमा भएको मदिरा नष्ट कार्यमा स्थानीय वडा सदस्य, उधोग वाणिज्य संघका अध्यक्ष, पत्रकार र रामपुर नगरपालिकाका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो।