बडाल सहकारीका पण्डित हुनुहुन्छ : प्रधानमन्त्री ओली
प्रकाशित २०७५ असोज २७ शनिबार
473
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको औँल्याए ।
कृषिलाई आधुनिकीकरणका लागि समेत सहकारीको माध्यामबाटै जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले जमीन खण्डित भइरहेको प्रति चिन्ता व्यक्त गरे ।
“बडाल सहकारीका पण्डित हुनुहुन्छ, सहकारी आन्दोलनमा उहाँले पुर्याएको योगदान महत्वपूर्ण छ, उहाँसँग थुप्रै अनुभव छ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ”, प्रधानमन्त्रीले भने ।
उनले पार्टीको छलफलमा समेत बडालले सहकारीका एजेण्डा ल्याउने गरेको स्मरण गर्दै प्रकाशित पुस्तक बडालको सम्मान र स्विकारोक्ति हो भने ।
पुस्तकमाथि टिप्पणी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक इमान्दारिताको खडेरी परिरहेका बेला आएको कृति ‘इमानको इन्द्रनी’ले राजनीतिक इमान्दारिताको पात्र खडा गरेर पुनः बहसमा ल्याइदिएको बताए ।
भूमि व्यवस्थापन, सहकारी आन्दोलनमा बडालले गरेको योगदानको मन्त्री ज्ञवालीले सराहना गरे। लेखक अनिल पौडेलद्वारा लिखित उक्त कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । लेखक पौडेलले इन्द्रेनीका सप्तरङ्गी छटाहरू बडालमा देखिएकाले कृतिको सारतत्व नै स्वाभिमान, कर्तव्यनिष्ठ र इमान रहेको उल्लेख गरे।
यसैबीच यस वर्षबाट केशव बडाल सहकारी पत्रकारिता सम्मान वितरण शुरु गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासङ्घकी सञ्चालक ओमदेवी मल्लद्वारा स्थापित रु एक लाख एक हजार राशिको कोषमार्फत यस वर्षबाट पत्रकारिता सम्मान प्रदान गर्न थालिएको हो ।
सहकारीको क्षेत्रमा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै हरेक वर्ष उक्त सम्मान वितरण गरिने जनाइएको छ ।
यस पटक पहिलो सम्मान नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंलाई प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मान प्रदान गरेका थिए । रासस