arrow

कांग्रेस नेता बास्तोला रहेनन्

आइतबार साँझसम्म दाहसंस्कार 

logo
प्रकाशित २०७५ असोज २७ शनिबार
chakra-bastola.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति निधन भएको छ। बास्तोलाका स्वकीय सचिव रहेका राधाकृष्ण काफ्लेका अनुसार बास्तोलालाई अन्तिम पटक शनिबार राति १०ः२० बजे चिकित्सकले हेरेर निधन भइसकेको घोषणा गरेका हुन् । 

चिकित्सकले हेर्दा केही समय अगाडि नै बास्तोलाको निधन भइसकेको बताएका थिए । सो आँकडा अनुसार राति ९ः२० तिरै बास्तोलाको निधन भएको हुन सक्ने काफ्लेले बताए । 

बास्तोलालाई बाँसवारीस्थित न्यूरो अस्पतालमा लगिएकामा अस्पतालले अपरान्ह ४ बजे उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गरेको थियो  ।  उनलाई अस्पतालले दिएको लाइफ सपोर्ट झिकिएको थियो ।

त्यसपछि बास्तोलालाई घरमै लगिएको थियो । उनको घरमै दश दान गरिएको थियो। बास्तोलाको अवस्था निकै जटिल बनेपछि हिन्दू परम्परा अनुसार जिउँदो अवस्थामा गरिने कार्य दश दान गरिएको थियो ।

बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरेका थिए ।  
अन्तिम अवस्थामा पुगेको जानकारी पाएपछि काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशाांक कोइराला, पूर्ण बहादुर खड्का तथा नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक बास्तोला निवास खुमलटार पुगेका थिए ।  

बास्तोलाको जीवनको अन्तिम क्षणका अवस्थामा उनको घरमा नेपाली कांग्रेसका नेता कार्यकर्ता र सुभेच्छुकको भीड लागेको छ ।  

बास्तोला ०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका थिए । उनलाई त्यतिबेला मस्तिष्कघात भएपछि भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँवमा उपचार भएको थियो । 

त्यसपछि उनको काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो ।

जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ बास्तोलालाई प्रदान गरेको थियो । 

दाहसंस्कारबारे अझै समयको टुंगो नलागेको स्वकीय सचिव काफ्लेले बताए । उनले हाम्राकुरासंग भने, ‘पार्टीले गर्ने निर्णय भोलि नै थाहा होला । छोरीहरु पनि आउनु पर्ने भएकाले आइतबार साँझ नभइ दाहसंस्कार हुने सम्भावना छैन ।’

काफ्लेका अनुसार एक छोरी इटहरीमा छिन् भने अर्की छोरी बेलायतको लण्डनमा छिन् । इटहरीबाट आइतबार बिहानै आइपुग्ने र लण्डनबाट आउन साँझ ५ बज्ने उनले बताए । 

पार्टी कार्यालयले भने कुनै निर्णय गरिसकेको छैन । 

कस्तो थियो उनको राजनीतिक चरित्र ?
झापाको बुधबारे स्थायी घर भएका उनी लामो समयदेखि खुमलटारमा पत्नीसहित बस्दै आएका थिए ।

बास्तोला कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेताका रुपमा चिनिने उनी शान्तिपक्रियाका समेत खम्बा मानिन्थे । 

उनले तत्कालिन समयमा युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका थिए । 

तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा संवाद गराउने उनी एक सेतुसमेत थिए । उनी कोइरालाका अत्यन्तै निकट विश्वासपात्र समेत मानिन्थे । 


बाँस्तोला बिपीको प्रेरणाबाट ०१७ सालदेखि राजनीतिमा होमिएका थिए । बिपीबाटै समाजवादी दीक्षा पाएका उनी ०३० सालको विमान अपहरणको एक नाइके समेत मानिन्थे । बनारस हिन्दु विश्वविद्यालय (बिएचयु) मा राजनीतिशास्त्रका पोस्टग्रेजुएट गरेका उनी०४८ सालको संसदीय चुनावमा झापाबाट उम्मेदवार भएका थिए तर पराजित भए । 

त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा उनी परराष्ट्रमन्त्री भएका थिए । उनी भारतका लागि पूर्व नेपाली राजदुतसमेत बनेका थिए ।

सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी कांग्रेस भित्र हक्की स्वभावका निडर नेताका साथै जोखिम मोल्न तयार रहने नेताका रुपमा चिनिन्थे ।
पार्टीको चुनावी घोषणापत्र लेखन र पार्टीसँग जोडिएका अन्य दस्तावेज लेखनका विषयमा समेत उनले विशेष भूमिका पाउने गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ