पाल्पा । ‘जय देवी भैरवी गोरखानाथ, दर्शन दिइए है नव दुर्गा भवानी’
‘कति सुत्यौ हे नन्दालाल, उठपति कृष्ण तिमी स्नान गरी जाऊ रे’
घटस्थापनाका दिन देखि तानसेनका चोक चोकमा विहानै सुनिने यी मालश्री र विवाहस गीतका भाकाहरु हुन् । तानसेन नगरपालिका ६ का ६७ वर्षका रामबहादुर गन्धर्व हातमा सारंगी लिई यी भाकाहरु गुनगुनाउदै विहान तीन बजे घरबाट निस्कन्छन् ।
कतिपय स्थानीयहरुले सुतिरहेको अवस्थामा निन्द्रा खल्बलिदिएको भनि छिजो मान्ने हेर्छन् भने, कतिपयले उनका ती गीतका भाकाहरु सुन्नका लागि घरका छतबाट नियालिरहेका हुन्छ । वास्तावमा उनी कला संस्कृतिको संरक्षणका लागि भन्दै मालश्री र विवाहसका भाकाहरु सारंगीको धुनमा गुनगुन्याउँदै तानसेनका चोक –चोकमा पुग्छन् ।
बडादशैं आएको झल्को दिने यी भाकाहरु पछिल्लो समयमा हराउँदै गएपछि तानसेनका केही कलाकारहरुको आग्रहमा गन्धर्वले गीत गाउँदै हिडेको हाँस्यकलाकार किरण चित्रकारले बताए । विगत दुई वर्ष अघिदेखि बडादसैंका बेला सारंगीको धुनमा गुञ्जिने मालश्री गीत सुन्न नपाएका तानसेनवासिहरुले यस वर्ष भने सुन्न पाएका छन् ।
विगतमा घटस्थापनादेखि अष्टमीसम्म राति एक बजेबाट बिहान मिरर्मिरे उज्यालो नहुँदासम्म मालश्री र विवाहस गाउने रामबहादुरका सहयात्री होनिमाया गन्धर्वको निधनपछि यस्ता भाकाहरु सुन्न छोडिएको चित्रकार बताउँछन् । तानसेनका चोकचोकमा नवदुर्गाभरी मालश्री र विवाहस गाउँर्दै हिड्ने होनिमायाको २०७३ मा निधन भएपछि यस्ता भाकाहरु हराउन थालेका हुन् ।
मालश्री गीतहरुले दशैं आएको आभास दिलाउने भए पनि पछिल्लो समय नेपाली समाजमा यी गीतका भाकाहरु नयाँ पुस्तामा हस्तान्तरण नहुँदा मालश्री र विवाहस भाकाहरु हराउँदै गएको प्रति तानसेनका पुराना पुस्ताहरु दुख पोख्छन् । हाम्रो संस्कृति र हाम्रो परम्परालाई लोप हुन नदिनका लागि चोक चोकमा मालश्री र विवाहसका भाकाहरु गाउँदै हिडेको रामबहादुर गन्धर्व बताउँछन् । उनी भन्छन्, कला संस्कृति सबैको गहना भएकाले यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्छ । ’
नेपाली समाजमा दसैंको समयमा यो धुन बजाउने गरेकाले दसैं धुन पनि भनिन्छ । प्रविधिको विकास सँगसँगै मालश्री धुनका लागि आधुनिक बाजागाजाको विकास भएकाले मालश्री हराउन थालेको स्थानीय दिनेश गन्धर्व बताउँछन् । उनी भन्छन्, ‘परम्परागत रुपमा गाउँदै आएका यस्ता भाकाहरु लोप हुन थालेकाले यसको जगेर्ना गर्न टोल –टोलमा गएर गाउन थालेका छौं ।’
प्राकृतिक र धार्मिक सांस्कृतिक महत्व नै मालश्रीको विशेषता हो । जमरा राख्ने,नृत्यनाथको पूजाआराधना गर्ने र वाद्यवादनहरुको पूजा गर्ने जस्ता गतिविधिहरुमा मालश्री अनिवार्य रुपमा गाईन्छ । मालश्रीको धुन जहाँ सम्म सुनिन्छ त्यहाँ सम्म भूत प्रेत वा किरा फट्यांग्राले समेत केही नोक्सान नपुर्याउने जनविश्वास रहेको छ ।
जुन पछिल्लो समयमा संकटमा परेको छ । बिहान ३ बजेदेखी घरको ढोकामा गएर मन्द धुनमा मालश्री गीत बजाइने गर्दा नवदुर्गा प्रशन्न हुने विश्वास समेत रहेको छ । यसको महत्व नयाँ पुस्तामा फैलाउन नसक्दा मालश्री संकटमा परेको छ ।