गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू : नेता नेपाल
प्रकाशित २०७५ असोज २८ आइतबार
595
Shares
काभे्रपलाञ्चोक। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन्। काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन सभालाई आज कुन्ताबेँसीमा सम्बोधन गर्दै नेता नेपालले भने, “सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन्, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू, डण्डा लगाएर तह लगाउनुस्।”
नेता नेपालले प्रदेश नं ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा सबै पक्ष छलफलमा जुट्नुपर्ने बताए। उनले भने, “काभे्रपलाञ्चोक नै राजधानी राख्ने विषयमा तर्क पुष्टि गर्नुहोस्।” नेता नेपालले काभे्रपलाञ्चोकको बनेपास्थित नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने विषयमा आफूले पनि गम्भीररुपमा पहल गर्ने बताए। उनले पाँचखाल नगर चीनसँगको व्यापारका लागि उपयुक्त भएकाले काभे्रपलाञ्चोकको महत्व निकै रहेको बताए।
नेता नेपालले स्थानीय जनप्रतिनिधिले स्थानीय तहमा सुशासन सिकाइ जनताको आँखाको नानी बन्नुपर्छ बताए। उनले भने, “जनताको आँखाको नानी बन्ने उपाय खोज्नुस्।” “जनतालाई सेवा सुविधा दिन नसके वर्तमान जनप्रतिनिधि र सरकारको औचित्य पूरा हुँदैन”, नेता नेपालले भने।
नपाले हेलम्बु यातायात सेवा समितिसँग समन्वय गरी आफ्नो क्षेत्रमा छ वटा नगरबस सञ्चालन गरेको हो।