काठमाडाैं । नेपाली कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ ।
पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदूत श्री चक्रप्रसाद बाँस्तोलाको निधनका कारण शुभकामना आदान प्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको पार्टीले बताएको छ । उनको निधनको तेह्रौं दिनसम्म पार्टी विभिन्न शोकका कार्यक्रमको आयोजना गर्ने भएकोले चियापान कार्यक्रम सार्नुपरेको जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ - नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदूत श्री चक्रप्रसाद बाँस्तोलाको २०७५ असोज २७ गते राति भएको निधनका कारण उहाँको निधनको तेह्रौं दिनसम्म पार्टी विभिन्न शोकका कार्यक्रमको आयोजना गर्ने भएकोले उहाँप्रति सम्मान प्रकट गर्दै शुभकामना आदान प्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको छ ।
उक्त शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम २०७५ कार्तिक १६ गते दिउँसो १ बजे देखी ५ बजे सम्म पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपूरमा हुनेछ । उपत्यकाका तीन जिल्ला बाहेक अन्य जिल्लाहरुमा आयोजना हुनेछ । उपत्यकाका तीन जिल्ला केन्द्रको कार्यक्रममा सहभागी हुनेछन् ।
काङ्ग्रेसले पूर्व निर्धारित कार्यक्रमको मिति परिवर्तन भएको कारण उत्पन्न भएको असुविधाका लागि नेपाली कांग्रेस क्षमा याचना गर्दै यसअघि निमन्त्रणा पठाइएका सबैलाई शुभकामना तथा निमन्त्रणा पत्र पुनः पठाउने बताएको छ ।