arrow

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले

“थाहा छ यो बलात्कारीको अण्डकोश हो,” प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन्

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
Soweto_Girl.jpg

सोवेतो, दक्षिण अफ्रिका। दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको अण्डकोश हो,” प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन् । 

एउटी ११ वर्षीया बालिका त्यस प्याडलाई हात र कुहिनाले बेस्सरी हिर्काउँछिन् । थाबिसाङ स्कुलमा यो आत्मरक्षा र बलात्कार हुनबाट जोगिन सिकाइएको पहिलो दिनको अभ्यास हो । अभ्यासका लागि कक्षाकोठाका डेस्क र कुर्ची भित्तामा ठड्याएर राखिएका छन् । 

सरकारी तथ्याँकमा दक्षिण अफ्रिकामा दैनिक ११० भन्दा बढी बलात्कारका घटना हुने गरेको उल्लेख छ । तर यो संख्या सही नरहेको धेरैको बुझाइ छ किनभने बलात्कारका घटनाको रिपोर्टिङ यहाँ ज्यादै कम हुने गर्दछ । केही अध्ययनले १३ वटा बलात्कारका घटनामा एउटा मात्र मुद्दा प्रहरी समक्ष पुग्ने देखाएका छन् । 

पछिल्ला समाचारले दक्षिण अफ्रिकामा बलात्कारका घटनाको कहालीलाग्दो तथ्य सार्वजनिक भएको छ । 

सेप्टेम्बरमा एकजना १७ वर्षीयालाई चिकित्सकको वेशमा रहेका एक व्यक्तिले अस्पतालको प्रसूति वार्डमै बलात्कार गरे । अघिल्लो दिनमात्र ती किशोरीले बच्चा जन्माएकी थिइन् । 

त्यसै महिना एकजना सात वर्षीया बालिका राजधानी प्रिटोरियाको लोकप्रिय रेष्टुराँको शौचालयमा बलात्कृत भइन् । भिडियो फुटेजमा एक जना नग्न पुरुष भाग्दै गरेको देखिएको थियो । 

अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको महिला लिगले महिला सुरक्षाका सन्दर्भमा तत्काल कुनै कारबाही अघि बढाउनु पर्ने देखिएको छ । 

“हामीले सक्दो प्रयत्न गरेका छौं ... तर यौन आक्रमणका घटनामा कमी आएको देखिएन । त्यसर्थ, हामीले त्यस्ता पुरुषको रसायनयुक्त बन्ध्याकरण (केमिकल क्यास्ट्रेसन) गर्नुपर्ने माग गरिरहेका छौं,” लिगका महासचिव मिओक्गो माटुवाले बताउनुभयो । 

सोवेतोको अर्को कक्षाकोठामा पनि मोनोकोलीले आत्मरक्षाको तरिका मात्र होइन कि बालिकाहरुलाई सम्भावित जोखिम कसरी थाहा पाउने र त्यसमाथि कस्तो प्रतिक्रिया जनाउने भनेर सिकाउँछिन् । 

“कोठामा असहज परिस्थिति देख्नासाथ त्यो कोठाबाट तुरुन्तै बाहिर निस्किहाल्नु, त्यहाँ नबस्नु,” उनी बालिकाहरुलाई सम्झाउँछिन् । “उनीहरुले एक किसिमको सन्देश दिइसके –– त्यस्तो व्यक्तिसँग एक्लै बस्नै हुँदैन ।” 
तैपनि त्यो व्यक्तिले आक्रमण गरिहाल्याने भने ? उनी भन्छिन् ः “जतिसक्दो ठूलो स्वरले चिच्याउनु ।” 

मोनोकोली बालिकाहरुलाई आत्मरक्षाका बारेमा स्कुलहरुमा तालिम दिने दक्षिण अफ्रिकाको सामाजिक संस्था एक्सन ब्रेक्स साइलेन्स (एबीएस) का लागि काम गर्छिन् । यस संस्थाले अनुचित र हिंसात्मक व्यवहार रोक्न केटाहरुका लागि कार्यक्रमहरु पनि चलाउँछ । 

एबिएसका संस्थापक देवी स्टेभन बालिका हुँदा आफै पनि बलात्कृत भएकि थिइन् । उनले बलात्कारका विरुद्धमा विद्यालयमा कक्षा दिने र विभिन्न कम्पनीमा सुझावहरु दिने काम गर्दै आएकि छिन् । यस कार्यमा उनले दशकौँ विताएकी छिन् । 

उनले एएफपीसँग भनिन्– दक्षिण अफ्रिकामा हिंसा सामान्य बन्दै गएको छ । तर यहाँ बलात्कारका घटना हुने गरेका छन् तर नागरिकले यसलाई बाहिर भन्नुभन्दा पनि मानिसहरुलाई समान्यजस्तो भइसकेको छ । 

उनको बालिकालाई आत्मरक्षाको तालिम र सचेतनासम्बन्धी मानसिक विषयका कार्यक्रमहरुतर्फ आकर्षित गर्नुपर्ने सुझाव छ । यस्तो तालिमले बालिकाहरुमा आत्मविश्वास दिलाउँछ । 

धेरैजसो, यौनहिंसाका घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । स्टीभनले दक्षिण अफ्रिकामा आफ्नै साथी वा पूर्व साथीबाट हरेक दिन दुईजना महिलाको हत्या हुने गरेको बताउनुभयो । 

कक्षाकोठामा नीलो स्कुल पोशाक र लामा मोजा लगाएका बालिकाहरु बेलाबखत जिस्किन्छन् तर वातावरण निकै गम्भीर र केन्द्रिकृत हुने गर्दछ । “हामी तिमीहरुलाई थोरै जोड लगाएर पनि कसरी सहजै लड्ने कला सिकाउँछौं,” एकजना पुरुष प्रशिक्षक बताउँछन् । बालिकाहरुले सहजै कान तान्न र नाक फुटाउन सक्ने कला उनले सिकाइरहेका थिए । 

“हामी लडाकू हौं,” निकै उत्साहित देखिएकी ११ वर्षीया नोन्कुलुलेको बताउँछिन् । “मसँग एउटा अनौठो औषधि पनि छ, मान्छेलाई बेहोस पार्ने औषधि हो यो । यसले पनि लड्न मद्दत गर्दछ ।” 

एबीएसले १३ हजारभन्दा बढी बालबालिकालाई तालिम दिइसकेको छ । यो तालिमले सरकारलाई ठूलै मद्दत गरेको छ । 

एकजना आमा माली मासोन्डोले हरेक परिवार र बालबालिकाको दैनिक जीवनमा बलात्कारको त्रास ज्यादै बढेको बताउनुभयो । “कसलाई विश्वास गर्ने, कसलाई प्रेम गर्ने थाहा नै हुँदैन,” उहाँ दुःखेसो पोख्नुहुन्छ । “कहिलेकाहिँ बच्चाहरुलाई कसैसँग बोल्न, हाँस्न दिँदा पनि डर लाग्दछ किनभने हरेक समय नकारात्मक कुरा नै मनमा खेलिरहन्छ ।” एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ