काठमाडौं । हनुमानढोका दरबारस्थित दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइँदै छ । फूलपाती भित्र्याउन निकै तामझामका साथ तयारी गरिएको छ । यो वर्ष फूलपाती भित्र्याउने साइत बेलुकी साढे चार बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि सहभागि हुने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । फूलपाती भित्र्याउने क्षेत्रको बाटो खाली गरिएको छ, भने सैनिकमञ्च डुँडीखेलमा सेना हर्षबढाईका लागि तयारी अवस्थामा बसेको छ ।
राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउँदा क्रममा राज्यप्रमुखका नाताले राजा उपस्थिति रहने गरेकामा गणतन्त्र र्आपछि संस्कृतिमन्त्री उपस्थित हुने चलन बसालिएको छ ।
गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म फूलपाती दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती हनुमानढोका भित्र्याउने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फूलपातीका दिनबाट बढ्ने गर्छ ।
बडा दसैँको मुख्य दिन फूलपातीबाटै सुरु भएको मानिन्छ । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि सुरु हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालय बिदा हुन्छ । सरकारी कार्यालय बन्द भएसँगै घर फर्कनेहरुको घुईंचो बढेको छ ।
हरेकवर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती घरघरमा भित्र्याइन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने चलन छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी जानकारी दिए ।
सरकारी दशैँ घरमा साइतमै फूलपाती भित्र्याउनु परेपनि साधारणजनका लागि साइत कुर्नुपर्ने आवश्यकता नरहेको डा. गौतमले बताएका छन् ।