घोराही । वन संरक्षणमा दाङका महिला सक्रिय भएका छन् । पछिल्लो समय सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ ।
५०४ वटा सामुदायिक वन समूह मध्ये ६३ वटा वन समूह महिलाले मात्रै सञ्चालन गरिरहेको सामुदायिक वनका निर्वतमान सचिव हेमराज शर्माले जानकारी दिए ।
उनका अनुसार महिलाले सञ्चालन गरेका वन समूह यतिखेर निकै फस्टाउँदै गएका छन् । त्यसैगरी वन जोगाउने काममा पनि महिला सक्रिय भएर लागेका छन् । आफ्नो क्षमताको विकासमा पनि उनीहरू अघि नै छन् ।
वन समूहमा आबद्ध दाङका महिला अन्य विभिन्न सामाजिक सङ्घ संस्थाको नेतृत्वमा समेत पुगेका छन् । सामुदायिक वन उपभोक्ता समूहका पूर्व केन्द्रीय सदस्य पदमा चौधरीका अनुसार जल, जमीन र जङ्गलमा मात्र महिला सहभागिता नभई निर्णायक तहमा पनि महिलाको प्रतिनिधित्व बढेको छ ।
उनले, ‘अहिले महिला आयआर्जनका लागि घुम्ती कोष सञ्चालन गर्न सफल भएका छन् भने सहकारीदेखि प्राकृतिक स्रोत साधनको संरक्षणमा पनि सक्षम बन्दै गएका छन्’ भनिन् ।