यसरी झल्किदै सरकारका असफलता : वर्षौदेखि चलिआएको परम्परा नै तोड्यो
प्रकाशित २०७५ असोज ३१ बुधबार
383
Shares
काठमाडौं । गठनको ८ महिनासम्म पनि आन्तरिक व्यवस्थापनमै अल्झिएको सरकारले यो पल्ट वर्षौँदेखि चल्दै आएको एउटा परम्परा तोडीदिएको छ ।
यो पल्टको बडा दशैँमा कैदीबन्दीले सजाय मिनाह एवं माफी पाएनन् । सधैँका वर्ष झैँ यो वर्षपनि कैदीहरुले सजाय माफी हुने आश गरेका थिए । तर, दशैंको अवसरमा माफी दिने त्यो परम्परा यो पल्ट सरकारले नै टुटाइदिएको छ ।
निर्मला हत्याकाण्डले थलिएको गृह मन्त्रालयले यो पल्ट कारागार व्यवस्थापन विभागलाई कैदी बन्दीलाई माफी दिने विषय नै विर्सियो । समयमै परिपत्र गरेन । जसकारण कयौँ समयदेखि चलेको परम्परा टुटेको छ ।
गृह मन्त्रालयले पठाएको चिठ्ठी अनुसार असल चालचलन भएका र आधा कैद भुक्तान गरिसकेका तथा सजाय मिनाहका लागि मापदण्ड पुरा गरेका कैदीको नाम देशभरका कारागारबाट पठाउने गरिन्छ । यो पल्ट सरकारले त्यति पनि गर्न सकेन । सरकारले कैदीबन्दी सिफारिसका लागि परिपत्र नै गरेन ।
मिन्त्रपरिषद्ले निर्णय गरेपछि राष्ट्रपतिबाट हरेक वर्ष बडादशैं, गणतन्त्र दिवस र संविधान दिवसमा आधा सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका तथा सजाय मिनाहको लागि सबै मापदण्ड पुगेका कैदीहरुको सजाय माफी गर्ने तथा कारागार मुक्त गर्ने परम्परा थियो ।
गएको भदौ १ बाट लागू भएको नयाँ अपराध संहिताका कारण मुलुकी अपराध संहिता अनुसार कैदीबन्दीले कैद मिनाह पाउन जघन्य अपराध अन्तर्गत भष्टाचार, जबर्जस्ती करणी, राज्यविरुद्धको अपराध, मानव बेचबिखन विरुद्धको अपराध, लागूऔषध कारोबार, शरीर बन्धन बाहेकका अन्य अपराधका मुद्दामा कम्तिमा ७५ प्रतिशत कैद भुक्तान गरेको हुनुपर्ने उल्लेख छ ।
पोहोरको दशैंमा ८ सय बढी कैदी कारागार मुक्त भएका थिए । यो वर्ष गणतन्त्र दिवसको अवसरमा पारेर सर्वश्वसहित जन्मकैद सजाय सुनाइएका बालकृष्ण ढुंगेल समेत कारागार मुक्त भएका थिए । उनीसहित ८ सय बढी कैदीको बाँकी सजाय मिनाह गरिएको थियो ।
अहिले केन्द्रीय कारागारसहित देशभरका विभिन्न कारागारमा रहेका कैदीहरुले प्रशासनका अधिकारीहरुलाई आफूहरुलाई के कारण माफी नदिइएको हो, भनी प्रश्न गर्न थालेका छन् ।
कारागार प्रशासनका मान्छे देख्नेवित्तिकै कैदीहरुले मापदण्ड पुगेर पनि किन माफी पाएनौं भनी सोधिरहेका छन् । आलोचकहरुले कडा शब्दमा ‘आफ्ना नजिकका कुनै अपराधी छुटाउनु परेको भए रातारात पनि निर्देशन वा सिफारिस हुन्थ्यो होला । तर, विगतदेखि नियमित गर्दै आएको काम समेत यो सरकारले गरेन ।’ नियमित काम नगर्ने पनि सरकार हुन्छ ? उनीहरुले प्रश्न गरेका छन् ।