कञ्चनपुर। कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा गएराति दुई दर्जनभन्दा बढीको सङ्ख्यामा आएको हात्तीको झुण्डले छ जना किसानको एक बिघाभन्दा बढी जग्गाको काटेर थन्क्याएको धान खाएर नोक्सान गरेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिरेको हात्तीको झुण्डले थ्रेसिङ गर्न ठिक्क पारेर राखिएको धान खाएर नोक्सान गरेको हो।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार स्थानीय किसान मनिलाल जोशी, जयबहादुर साउद, डम्बरबहादुर साउद, प्रजापति जोशी, गौरव भण्डारी, दिले बिष्ट र नैन सिंह पालको धानबाली हात्तीको झुण्डले खाएको छ।
किसानको दुई कट्ठादेखि पाँच कट्ठासम्मको धान खाएर हात्तीले नोक्सान गरेको छ इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “आँगनमै राखेको धानबाली हात्तीको झुण्डले खान थालेपछि किसान मर्कामा परेका छन्।” साँझ नपर्दै हात्तीको झुण्ड खेतमा छिर्ने गरेको र धान खाएर अघाएपछि मात्रै निकुञ्जतर्फ लाग्ने गरेको छ।
तीन सातादेखि भारतको दुधुवा नेशनल पार्क हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको हात्तीको झुण्डले यहाँका बासिन्दालाई निकै सास्ती दिन थालेका छन्। “भगाउन गएपछि पूरै झुण्ड आक्रमण गर्न आउँछ” स्थानीय किसान मनिलाल जोशीले भने, “आगो र पटाका पड्काएर पनि तर्सन छाडेको छ। धान बाली सकिएपछि घरभित्र भण्डारण गरेको अन्नसमेत खाने सम्भावना बढेको छ।
मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना बढेर गएको हुँदा हात्ती नियन्त्रणका लागि सम्बन्धीत निकायले पहल गर्नुपर्ने उनको माग छ। हात्तीको झुण्ड बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन्। धानबाली क्षति भएको क्षेत्रको शुक्लाफाँटा नगरपालिकाका नगरप्रम्ख दिलबहादुर ऐरले अनुगमनसमेत गरेका छन।