नेविसंघका महामन्त्री काफ्ले र सहमहामन्त्री कार्कीको दुर्गाभक्ती चर्चामा
नौ दिनसम्म अन्न नखाई ब्रतमा
प्रकाशित २०७५ कार्तिक २ शुक्रबार
404
Shares
काठमाडौं। दशैं आम नेपालीहरुले धुमधामका साथ मनाइरहँदा नेपाल विद्यार्थी संघका दुई नेताहरुको नवदुर्गाको भक्तिभाव अहिले विद्यार्थीहरुबीचमा चर्चामा छ। यूवाहरुमाझ दशैं भन्ने वित्तिकै आफन्तजन भेटका अतिरिक्त रमाइलो गर्ने कुरासँग जोडेर हेरिन्छ।
अधिकांश यूवाहरुले धार्मिक कार्यको जिम्मा परिवारका ठूलाबडा तथा अग्रज सदस्यहरुको भएको ठान्छन। तर नेविसंघका महामन्त्री कुन्दन काफ्ले र सहमहामन्त्री कृष्ण कार्की भने यो मामलामा पृथक भेटिए।
नवदुर्गाको आराधना गरिने दशैंको नवरात्रमा काफ्ले र कार्कीले नौ दिनसम्म अनुष्ठानमा रहि देवी दुर्गाको आराधनामा रहे। नौ दिनसम्म अन्न समेत ग्रहण नगरि उनीहरुले देवी दुर्गाको अनुष्ठानमा आफूलाई समर्पित गरे।
काफ्लेले काठमाडौंको बासवारीस्थित गायत्री परिवारको साधना केन्द्रमा नौ दिनसम्म धार्मिक विधीपूर्वक देवी दुर्गाको आराधना गरे। काफ्ले दैनिक गायत्री साधनामा व्यस्त रहेका थिए। मनलाई शुद्ध बनाउँदै समाजलाई नेतृत्व गर्न पनि भगवान भक्तीमा आफू समर्पित हुने गरेको काफ्ले बताउँछन।
उता विराटनगरका कार्की पनि प्रदेशभरका आम नागरिक हुँदै देशभरका विद्यार्थीबीच चर्चामा छन्। देशकै ठूलो कृष्ण रथयात्राको संयोजनकारी भुमिका निर्वाह समेत गरेका कार्की नवरात्रको अवसरमा शिव पञ्चयान मन्दिर, पोखरियाले आयोजना गरेको सामूहिक जमरा कार्यक्रमका मुख्य कर्ता बनेर सवैलाई चकित पारे। फलफुल मात्र खाएर नौ दिनसम्म कठोर ब्रत बसेर उनले यूवादेखी जेष्ठ नागरिकसम्मका सवैका लागि उदाहरणीय पात्रका रुपमा प्रस्तुत भए। प्रत्येक बर्ष मन्दिरले कर्ता राखेर सामूहिक जमरा राख्ने गर्दछ। यस बर्षको जमरा राख्ने सातौ संस्करणमा ४ सय घरपरिवारको जमरा राखिएको थियो। घटस्थापनाको दिनदेखि ब्रत बसेका उनले दुर्गा पुजा विर्सजन पछि मात्र ग्रहण गरेका थिए।
नबदुर्गा भगवतीको पुजा आराधना गरेर बसेका कार्कीले मुख्यकर्ता भएर श्रीमतभागवदको कथा श्रवण गरेका थिए। विराटनगर १ का वडाअध्यक्ष उद्धव अर्याल पनि उनीसँगै कर्ता थिए।
नेविसंघका सहमहामन्त्री कार्कीले यो ब्रतले आफूलाई मनलाई शुद्ध राख्दै राजनीतिमा अघि बढन थप प्रेरणा मिलेको बताए।
भगवत भक्ती, पूजापाठ, अनुष्ठान र आराधना धार्मिक क्षेत्रका व्यक्तिहरुको मात्र जिम्मेवारी हो भन्ने भ्रमलाई चिर्दै काफ्ले र कार्कीले गरेको भगवत भक्ती दशैंको टीकाको बेलामा चर्चाको बिषय भएको छ।