arrow

साउदीद्वारा पत्रकार खाशोग्गीको मृत्यु भएको पुष्टि 

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
khashoggi.jpg

काठमाडौं। साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको मृत्यु भइसकेको पुष्टि गरेको छ। यसअघि उनको मृत्यु भएको अस्वीकार गर्दै आएको साउदीले इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै भएको झगडाको क्रममा उनको मृत्यु भएको बताएको हो। 

गत अक्टोबर २ मा साउदी वाणिज्य दूतावास गएदेखि पत्रकार खशोग्गी बेपत्ता भएका थिए। यो समाचार पुष्टि भएसँगै साउदीका उच्च गुप्तचर अधिकारी अहमद अलअसिरी र राजपरिवारका वरिष्ठ सल्लाहकार साउद अल-कतानीलाई बर्खास्त गरिएको छ। साथै १८ जनालाई गिरफ्तार गरिएको बताइएको छ।

साउदी राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तेइप एर्दोगानसँग घटनाबारे टेलिफोन वार्ता गरेपछि खशोग्गीको मृत्युबारे समाचार आएको हो। राजा सलमानले देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि सुझाव दिन भन्दै राजकुमार मोहम्मद बिन सलमानको संयोजकत्वमा एउटा मन्त्रालयस्तरीय समिति गठन गर्न आदेश समेत दिएका छन्।

पत्रकार बेपत्ता प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन रियादले आफ्ना निकट साझेदार मुलुकबाटै चर्को दबाब झेल्दै आएको थियो। बेलायत, फ्रान्ससहित कतिपय मुलुकले रियादमा हुने एउटा लगानी सम्मेलन सोही प्रकरणलाई लिएर बहिष्कार गर्ने बताइसकेका छन्। कतिपयले ठूलो शक्तिको अभ्यास गर्दै आएका साउदी राजकुमार मोहम्मदकै निर्देशनमा खशोग्गीको हत्या गरिएको आरोप लगाउँदै आएका छन्। खशोग्गी खासगरी राजकुमार मोहम्मदका कतिपय नीतिको आलोचक थिए। 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाशोग्गीको मृत्युको विषय स्वीकार गर्न नसकिने तर साउदी आफ्नो मित्रराष्ट्र भएको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ