arrow

हिंसामा ५५ जनाको मृत्यु, कफ्र्यु जारी

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
nigeria-agitation.jpg

अबुजा । नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कफ्र्यु जारी गरेको बताए । उनले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गरेका छन् । 

हउसा मुस्लिम र अदारा इसाई युवाबीच यसैसाता शुरु भएको साम्प्रदायिक हिंसाका कारण कडुनाको कसुवान मगानी बजारमा तनावको वातावरण उत्पन्न भएको थियो । 

बजारमा शुरुमा बिहीबार दुई जनाको हत्या गरिएको थियो । त्यसपछि नाटकीय रुपमा हिंसा फैलिएको थियो । अदारा युवाले त्यसपछि हउसा समुदायका घरघरमा आक्रमण गरेका थिए । उनीहरुले स्थानीयबासीका घरमा आगो लगाउनुका साथै दर्जनौंको हत्या गरेका थिए । 

आफ्नो घर गुमाएका मगानीका बासिन्दा मुहम्मदु बालाले हउसा समुदायमा अधिकांश हत्या दोस्रो पटकको आक्रमणमा भएको जानकारी दिए ।

कडुनाका प्रहरी आयुक्त अहमद अब्दुर–रहमानले हिंसा फैल्याएको आरोपमा २२ जनालाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए ।

कडुना राज्य नाइजेरियाको उत्तरी भेगका बहुसंख्यक मुस्लिम र दक्षिणका इसाई बहुल क्षेत्रको बीचमा रहेको छ । यहाँ दुई सम्प्रदायबीच हिंसात्मक घटनाहरु भइरहन्छन् । 

फेब्रुअरीमा कम्तीमा १० जनाको ज्यान गएको थियो भने सयौं घरमा आगजनी गरिएको थियो । सन् २००० र २००२ मा फैलिएको हिंसामा हजारौं मारिएका थिए । 

नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले दुई सम्प्रदायबीच उत्पन्न असमझदारीले पटपटक मुलुकमा हिंसात्मक साम्प्रदायिक घटना हुने गरेको बताएको केही दिनभित्रै पछिल्लो घटना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ