विराटनगर । काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उनले यस्ताे बताएका हुन् । तर, अस्तित्वकाे कुरा किन झिके भन्ने विषयमा भने कार्यकर्ताहरु अचम्मित भएका छन्। काेइरालाले के संकेत गर्न खाेजेका हुन् भन्नेबारे भने संचारकर्मीले साेधेनन् । उनले जति सक्दो पार्टीको महासमितिको बैठक बस्नु पर्नेमा जोड दिए । महामन्त्री काेइरालाले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै पार्टीको पराजय नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा जोड दिए ।
संगै रहेका काङ्ग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे । उनले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन होस् भने । नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली काङ्ग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार राखे ।