विधानबाटै गच्छदारको ढोका खोलिंदै, कार्यसमितिको आकार र पद बढ्ने
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
189
Shares
काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधनमा केन्द्रीय कार्यसमितिको आकारबारे टुंगो लाग्न अझै केही समय लाग्ने भएको छ । पदाधिकारको संख्या तत्काल नबढ्ने भएपछि मस्यौदा गर्न गठित उपसमिति मध्यमार्गी बाटो खोजिरहेको छ ।
जुन मध्यमार्गी बाटोबाट नेता बिजयकुमार गच्छदारको व्यवस्थापन गर्न ढोका खुल्ने छ । विधान मस्यौदा उपसमिति अहिले त्यही विषय टुंगो लगाउँदैछ । पार्टीको नयाँ विधानको खाका एक साताभित्र मूल समितिमा पठाउने तयारी छ ।
उपसमितिले तयार पारेको मस्यौदालाई मुल समितिले परिमार्जन गरी केन्द्रीय समितिमा पेश गर्ने छ । उपसमितिले विधान, मस्यौदा समितिलाई बुझाएलगत्तै कात्तिक १५ गतेभित्र केन्द्रीय समितिमा पेश गर्ने बताइएको छ । पार्टी सदस्यताको झण्झटिलो व्यवस्था अन्त्य गर्ने, केन्द्रीय समिति र पदाधिकारीको संख्यामा ठूलो परिवर्तन नगर्ने मस्यौदाकारहरुको भनाई छ ।
विधान मस्यौदा समिति सदस्य रमेश लेखक भन्छन्, ‘पूरै नयाँ लेख्नु पर्ने परिस्थिति छ । त्यसो भएकैले समय बढी लागिरहेको छ । उद्यपि, हामी अन्तिम चरणमा छौँ र दुई चार दिनमै अन्तिम रुप दिन्छौँ ।’
विधानमा थोरै कार्यसमितिको संख्या बढ्ने स्थिति छ, उनले अगाडि भने, ‘धेरै बढाउन सकिने अवस्था छैन । जसरी कार्य समितिको संख्या बढ्छ । त्यसरी पदहरुको संख्या निर्धारण गर्ने कुरा आउँछ ।’ अहिले जुन अवस्था छ त्यसमा धेरै परिवर्तन हुँदैन भनेर बुझ्दा हुन्छ, उनले भनेका छन् ।
उनका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा केही संख्या बढ्ने र पद पनि थपिने छ । तर, बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पदाधिकारी सबै निर्वाचित हुनुपर्ने शर्त अघि सारेका छन् । उनीहरुले यसबारे आन्तरिक गृहकार्य समेत गरिरहेका छन् ।