कपिलवस्तुको कृष्णनगरमा फेरि लाग्यो कर्फ्यू, भारतीय सुरक्षा बलले पनि बढायो गस्ती
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
1k
Shares
काठमाडौं । भारतसँग जोडिएको कपिलवस्तुको सीमा बजार कृष्णनगरमा फेरि निषेधाज्ञा 'कर्फ्यू' लागेको छ । सोमबार साँझ ५ बजेसम्म खुला गरिएकामा प्रशासनले फेरि कर्फ्यू लगाएको हो । रातीको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले फेरि कर्फ्यू लगाउनु परेको प्रशासनले जनाएको छ ।
सोमबार बिहान ८ बजेदेखि १२ बजे सम्म कर्फ्यू हटाईएको थियो । र त्यसपछि १२ देखि साँझ ५ बजे कर्फ्यू हटाईएको थियो । चाडपर्वको बेला परेको थुप्रै नेपालीलाई ओहोर दोहोर गर्न समस्या भएको भन्दै दिउँसो कर्फ्यू हटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए । उनले भने, ‘अग्रिम टिकट लिई सकेकालाई निक्कै गाहे भएको थियो ।’स्थानीयलाई खाद्यान्न र उपभोग्य वस्तुको आपूर्ति व्यवस्था मिलाउनका लागि सोमबार ९ घण्टाकर्फ्यू हटाइएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले फेरि कर्फ्यू लगाएको हो । सोमबार दिउँसो नेपाल तिर पसल बन्द भएकाले पारीको भारतीय बजार बढनी गई नेपाली नागरिकले उपभोग्य वस्तु खरिद गरे ।
नवदुर्गाको मूर्ति परिक्रमा गर्ने क्रममा शुक्रबार साँझ ढुङ्गा प्रहार भएपछि विवाद हुँदा ३ दिनदेखि तनानग्रस्त कृष्णनगरमा आईतबार साँझ ५ बजेबाट अनिश्चितकालिन कर्फ्यु लगाइएको थियो । अवस्था सहज बन्दै गएपछि सोमबार केही समयका लागि कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए ।
दिउँसोको अवस्था सामान्य थियो उनले भने, ‘रातिको अवस्था हेरेर मंगलबारका लागि कफ्र्यूलाई निरन्तरता दिने नदिनेबारे निर्णय लिन्छौं ।’ तनावका कारण शुक्रबार बिसर्जन गर्न लागेको दुर्गा मूर्ति आईतबार साँझ ७ बजे मात्र कडा सुरक्षाकाबीच विसर्जन गरिएको थियो । उता, भारतीय सुरक्षा बल एसएसबीले पनि सीमा क्षेत्रमा असहज स्थिति रहेको भन्दै सतर्कता बढाएको छ । एसएसबीले गस्ती पनि बढाएको छ ।