arrow

‘ती रामबरण र यी विद्यादेवी बीचको फरक, विद्याले मदनलाई बिर्सिन्, राजसी बनिन्’ 

logo
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
vidya-tika-final.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको राजसी टीकाले गर्दा सामाजिक संजाल तातिरहेको छ । तत्कालीन एमालेकी उपाध्यक्ष भण्डारीले राजसी शैलीमा टीका लगाइदिँदा एक कम्युनिष्ट कार्यकर्ताको मर्म समेत भुलेको भन्दै कम्युनिष्टहरु नै आक्रामक भइरहेका छन् । 

विद्याले देखाएको हर्कतले उनका पति स्वर्गीय मदन भण्डारीको समेत अपमान भएको नेताहरुले बताउन थालेका छन् । उनको तुलना पूर्वराष्ट्रपति डा रामवरण यादवसंग तुलना गर्न थालिएको छ । 

पूर्व न्यायमूर्तिको दुर्दशाबाट छताछुल्ल भयो घटना 
दशैंको दिन पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई राष्ट्रपति भण्डारीले टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।

नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वरानी कोमललाई जुत्तामै ढोग्न लगाउँथे । यही तानाशाही प्रवृत्ति रहेकैले राजसंस्था ढल्यो । 

तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति) बाट राजसी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको छ।

सबैभन्दा बढी आक्रामक त नेकपाकै नेताहरु भइरहेका छन् । उनीहरु आफूहरुले परिकल्पना गरेको राष्ट्रप्रमुख भन्दा पनि अहिले फरक भएको भन्दै गुनासो गरिरहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले लेखेका छन्, ‘संयोगवशः उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन भएपछि पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो !! चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानुनमा विद्यावारिधि उपाधियुक्त डा भेषराज अधिकारी स्वकीय सचिव !!! अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादसैंंको टीका ? संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक भएन।’

यसैगरी विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि ट्विटरमार्फत लेखेका छन् ‘दुखी प्रजा र सुखी राजाका कुराः हाम्रो मन र मत बदलिएपछि यो अवस्था आफैं बदलिनेछ। त्यसका लागि अब धेरै वर्ष पर्खिनु पर्दैन होला। अन्यथा प्रमूख दलहरूबाट दशकौंदेखि भोग्दै आएको ‘आडम्बरी–सामन्ती समाजवाद’ एक या अर्को रूपमा प्रकट भइनै रहनेछ। जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने छन्।

त्यसैगरी नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘माक्र्स जीवित छँदै उनको नाममा गलत हर्कत गर्नेलाई भनेका थिए, इफ दिस इज माक्र्सिज्म आइएम नो माक्र्सिस्ट, अहिले नेपालको कम्युनिस्ट सरकारलाई माक्र्सले हेरिरहेका भए भन्लान्, इफ दिस इज कम्युनिज्म, आइएम नो कम्युनिस्ट।’

मदन भण्डारीको अपमान
अहिले राष्ट्रपति भण्डारीले देखाएको प्रवृत्तिले सिंगो कम्युनिष्टको शीर निहुरिएको तर्कसमेत गर्न थालिएको छ । सबैभन्दा ठूलो असर त उनका पति स्वर्गीय मदन भण्डारीप्रतिको सम्मानमा असर पर्ने समेत देखिएको छ । 

मदन भण्डारी नेपालका सम्मानित नेता थिए । उनको जनताको नौलो जनवादले उनलाई निकै नजिक ल्याएको थियो । कम्युनिष्ट विचारविहीन भएर अगाडि बढिरहेका बेलामा ०४६ सालमा बहुदल आएपछि मदन भण्डारी एकाएक चर्चामा आएका थिए । 

तर उनको निधन भएपछि कम्युनिष्टहरु फेरि अलमलिएको देखिएको थियो । मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि विद्या मदनको ठाउँमा राजनीतिमा देखिइन् । 

अहिलेको परिस्थिति देख्दा नेपाली राजनीतिको दुर्भाग्य भएको विश्लेषकहरु बताउँछन् । 

टीकाको प्रसंगलाई लिएर यद्यपि विद्यादेवीले अन्जानमा गरेको भन्नेहरु पनि छन् । त्यो राष्ट्रपति कार्यालयको व्यवस्थापकिय कमजोरी भन्नेहरु पनि छन्। ‘राष्ट्रपति भण्डारीको नव–महाराज बन्ने रहर कि सल्लाहकारको सामन्ती सोच ?’

राष्ट्रपतिको कुर्सीभन्दा व्यक्तिको अहम्
राष्ट्रपति भण्डारीको विषयलाई लिएर अहिले पूर्व राष्ट्रपति डा रामवरण यादवको कार्यकाललाई पनि जोडिएको छ । डा यादवले पनि टीका लगाइदिएका थिए । उनको टीकामा भने एकरुपता थियो । 

डा यादवले तत्कालीन प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने शैली एकै थियो । अहिले विद्यादेवीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइदिएको टीकाको शैली र अन्यलाई लगाइर्दिको टीकाको शैली फरक छ । 

ती रामबरण र यी विद्यादेवीबीच आकाशपातालको फरक रहेको समेत बताउन थालिएको छ । 

यादव सरल स्वभावका थिए । उनमा तडक भडक थिएन । तर दोस्रो कार्यकाल राष्ट्रपति भएकी विद्यादेवीको भने स्वभाव फरक भएको विष्लेषण गरिन्छ । 

व्यवस्थापन गर्नेले बेइमानी गरे वा विद्यादेवी नव–महाराज बन्ने रहर जाग्यो भन्ने प्रश्न टड्कारो बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ