arrow

आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ :चीन

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
china-flag.png

बेइजिङ। करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’चीनले सोमबार जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता सन् १९८७ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड रेगन र रूसी राष्ट्रपति मिखायल गोर्भाचोभबीच भएको मध्यम दूरीको आणविक हतियारको प्रयोग रोक्न गरेको सम्झौताबाट पछि हट्ने घोषणा गरेका थिए।

उक्त सम्झौताले तत्कालिन दुई प्रतिस्पर्धी मुलुकबीच ५०० देखि पाँच हजार ५०० किलोमिटर जमिनबाट जमिनमा मार हान्नसक्ने मिसाइलको प्रयोगमा रोक लगाएको थियो।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिन पहिले उक्त सम्झौताको रूसले विगत केही बर्ष यता उल्लङ्घन गर्दै आएको र चीनले उक्त सम्झौतामा हस्ताक्षर नगरेकोले यस्ता हतियार विकास गर्न स्वतन्त्र रहेको जिकिर गर्दै वासिङ्टन यसबाट फिर्ता हुने योजना सार्वजनिक गरेका थिए।

अमेरिकी रिपब्लिकन पार्टीका दुई सांसद लिन्डसी ग्राहम र बब कर्करले आइतबार ट्रम्पको चिन्ताप्रति समर्थन जनाउँदै सम्झौताले अमेरिकालाई पछि पारेको र चीनलाई अघि बढ्न सहयोग भएको बताएका थिए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार भने, “आणविक सम्झौताबाट फिर्ता हुने सन्दर्भमा चीनलाई जोड्नु गलत हुने कुरालाई जोर दिनु आवश्यक देखिएको छ।”

सम्झौताले विश्वलाई निशस्त्रीकरण प्रक्रियालाई अघि बढाउन, रणनीतिक सन्तुलन स्थापित गर्न र विश्वव्यापी स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेलेको हुवाको धारणा थियो।

सम्झौताबाट एकतर्फीरूपमा फिर्ता हुनुले धेरै नकारात्मक असर पार्दछ, उनले सञ्चारकर्मीसँगको नियमित भेटघाटमा बताए। अमेरिकालाई सङ्केत गर्दै सम्बन्धित पक्षले सम्झौताबाट फिर्ता हुने निर्णयबारे दोहोरायर सोच्नेमा चीन विश्वस्त रहेको हुआले बताए।

सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ र्‍यावकोभले आइतबार बताएका थिए। विदेशमन्त्री र्‍यावकोभले रूसी समाचार संस्था तासलाई भने, “म विश्वस्त छु, अमेरिकी कदमको अन्तराष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन। अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ।” तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई ‘अविवेकी निर्णय’ भन्दै आलोचना गरेका छन्।

“अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,” गोर्भाचोभले इन्टरफ्याक्सलाई बताए। उनले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताए। “यो घोषणाले विवेकको कमीलाई देखाउँछ,” गोर्भाचोभले थपे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ