अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीनतर्फ
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
482
Shares
काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्। चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिदाई गरे। उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन गर्ने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।
भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ।
विश्वका करीब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको उपस्थिति हुनेछ। उपप्रधानमन्त्री पोखरेल आगामी मङ्गलबार स्वदेश फर्कनेछन्।