ओली सरकार र नेकपा नेतृत्वविरुद्ध रीस ओकल्ने माधव नेपाललाई किन लाग्छ कि मिडियाले झुठो हल्ला फैलाउँछ ?
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
292
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल प्रायः आफ्नो गल्ती ढाक्न मिडियालाई दोष लगाउँछन् । आफूले पटक पटक गल्ती गर्छन् अनि उनको भनाइलाई लिएर मिडियाले सूचना दिए भने त्यो उनका लागि हल्ला हुन थाल्दछ ।
संसदमा केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गरे । यो सरकारले सुशासन बनाउन नसकेकोदेखि लिएर हत्या, हिंसा रोक्न नसकेको पनि बताए ।
उनी आफैले मिडियासंग प्रतिपक्षीको भूमिका खेलिरहेको पनि बताए । अनि पार्टीका विभिन्न प्रदेशका इन्चार्जहरु तोकिँदा चर्को असन्तुष्टि जनाए ।
उनले आफ्ना असन्तुष्टि पार्टी सचिवालयमा दर्ता पनि गराए । सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्न उनले केही मिडियाको प्रयोग पनि गरे ।
नेकपा सचिवालय बैठकमा उनले दह्रो गरी नेतृत्वको आलोचना गरे । नेतृत्व अर्थात् अध्यक्षद्धय केपी शर्मा ओली र पुष्ककमल दाहाल प्रचण्डको ।
सचिवालय बैठकमा राखिएका कुराहरुलाई स्थायी कमिटी बैठकमा राखेर पारित गर्ने निर्णय गरियो । स्थायी कमिटीमा माधव नेपाल पक्ष बलियो छ ।
सम्भवतः आफू बलियो भएरै होला नेपालले फेरि नेपाली मिडियालाई दोषी देख्न थालेका छन् ।
उनले दाङको घोराहीमा आयोजित कार्यक्रममा मिडियाको विश्वसनीयतामाथि प्रश्न गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताएर मिडियालाई झुठो बनाइदिए ।
नेकपा दाङले दशैँका अवसरमा मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पारे । उनले भने, “हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, “वामदेव निर्वाचन लड्ने कुरा पनि धेरै हल्ला भयो, त्यो सबै झुट हो ।”
अर्थात् नेपालले भनेका र गरेका सबै काम मिडियाले हल्ला फैलाएको हो भन्ने उनको आसय थियो । नेता नेपालले मिडियाका बारेमा पहिले पनि यसरी नै अफबाह फैलाउँदै आएको बताउँदै आएका छन् ।
आफ्नो बोलीमा लगाम लगाउन नसक्ने अनि त्यही मिडियालाई दोष दिने नेपालको बानीले एक जिम्मेवार नेताका भनाइप्रति नै प्रश्नचिन्ह खडा भएको स्पष्ट हुन्छ । नेता नेपाल पूर्वप्रधानमन्त्री समेत हुन् ।