जनकपुरधाम। सशस्त्र सीमा सुरक्षा बल धनुषाका एकजना सशस्त्र सहायक प्रहरी हबल्दारलाई मंगलवार बिहान घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाको सुरक्षार्थ पाँच महिनादेखि खटेका सहायक सशस्त्र प्रहरी हबल्दार चन्देश्वर गिरिलाई नगद ११ हजार रकम सहित अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ।
सशस्त्र सीमा सुरक्षाबलको कार्यालयले जनाए अनुसार उनी सोमवार देखि नै घर विदा स्वीकृती गराएका थिए। उनले भन्सारमा मालसमान पास गराउन सघाउन भन्दै सेवाग्राहीबाट ११ हजार रुपैया लिदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो। धनुषा जिल्लाको पूर्वी भेगमा लामो समय बसेका गिरि पाँच महिनादेखि जिल्ला प्रशासन कार्यालय धनुषाको सुरक्षार्थ तैनाथ थिए।
भारतीय बजारबाट घरायसी सामान भन्सार नतिरी अवैध रुपमा नेपाल प्रवेश गराउने भन्दै ब्यापारीसँग रकम लिने गरेको उनीमाथि उजुरी परेको थियो। स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई केहिदिनदेखि पछ्याउँदै थियो। अख्तियारले सहायक हबल्दार गिरिलाई नियन्त्रणमा लिएको छ।