निर्मला हत्याको अनुसन्धानलाई असर पार्ने एसपी विष्ट र भट्टको भविष्य गृह मन्त्रालयको हातमा, स्पष्टिकरण बुझाइयो
जवाफ चित्त नबुझे बर्खास्त
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
324
Shares
काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण बुधबार गृह मन्त्रालयमा बुझाइएको छ ।
प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन बुधबारदेखि नै शुरु भएको र कानूनी प्रक्रिया पूरा गरेर त्यसबारे निर्णय लिइने छ ।
मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
विष्टले नै घटना दर्ता गर्न समेत मानेका थिएनन् । त्यसपछि उनी र भट्ट निलम्बनमा परे पनि अहिलेसम्म बलात्कारी र हत्यारा पत्ता लागेको छैन ।
दुवै जना दोषी पाइए प्रहरी सेवाबाट बर्खास्त हुनेछन् ।