‘तपाईलाई विश्वास लाग्छ सीके राउतलाई नेकपाले चियापानमा बोलाउँछ ?’
विप्लवको ठेगाना नपाएर जान पाएन चियाको निम्तो
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
322
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको चर्चा बढ्दै गएको छ । समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर सत्ता चलाइरहेको सत्तारुढ दल नेकपाले चियापानका लागि ५० हजार जनालाई बोलाउने भएसंगै चर्चा चुलिएको हो ।
चर्चा त्यतिमा सीमित भएको छैन । चियापानमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको चर्चा बढेको छ ।
नेकपाका नेताहरुले सीके राउतलाई पनि निम्तो दिइएको बताएपछि चर्चा चुलिएको हो ।
‘तपाईलाई विश्वास लाग्छ सीके राउतलाई नेकपाले चियापानमा बोलाउँछ ?’
सीके राउतबारे जिज्ञासा राख्दा नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले हाम्राकुरालाई एकै स्वासमा भने, ‘तपाईलाई विश्वास लाग्छ सीके राउतलाई नेकपाले चियापानमा बोलाउँछ ?’
उनले अगाडि स्पष्ट पारे, ‘जेलमा भएको देशद्रोहीलाई जेलमै सडाउने हो चियापानतिर बोलाउने हैन ।’
उनले नेकपाले देशद्रोहीहरुलाई ठाउँ नदिने समेत स्पष्ट पारे । उनले थप स्पष्ट पार्दै भने, ‘सीके राउत को हो जो जेलमा भएका मान्छेलाई समेत नेकपाले निम्तो दिन्छ ।’
नेता श्रेष्ठले नेकपाका महासचिव चन्द विप्लवलाई भने निम्तो दिन खोजिएको तर ठेगाना थाहा नपाएर दिन नसकिएको बताए ।
सरकारले खोजिरहेको व्यक्तिलाई पार्टीले कसरी बोलाउन खोज्यो त ? भन्ने जिज्ञासामा नेता श्रेष्ठले भने, ‘विप्लव पनि भोलि चित्रबहादुर केसी जस्ते हुनेछन् ।
चियापानको तयारी पूरा
पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए ।
गत वर्ष सङ्घ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन । चियापानको तयारीबारे बुधबार नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गरे ।
चियापानका लागि नेकपाले करीब ५० हजारलाई निम्ता गरिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार चियापानमा करीब ३५ हजार सहभागी हुने छन् । चियापान कार्यक्रम मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
केन्द्रीय सदस्य श्रेष्ठले मध्यान्ह १२ देखि दिउँसो ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बताए ।
दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुने छन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरिने छ ।