arrow

तीन वर्ष अघि सिरियामा अपहरण परेका जापानी पत्रकार रिहा

logo
सिन्ह्वा,
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
japanese-journalist-yasuda.jpg

टोकियो। जापानी स्वतन्त्र पत्रकार जुम्पाई यासुदा सिरियामा अपहरण भएको तीन वर्ष भन्दा लामो समयपछि मुक्त भएका छन्। जापानको सरकारी टेलिभिजन एनएचकेले रिहा गरिएका पत्रकार यासुदा बिहीबार टर्कीको राजधानी इस्तानबुलबाट जापानतर्फ उडे्को जनाएको छ।

यासुदा तीन वर्षअघि सिरियामा बेपत्ता भएका थिए। उनलाई लामो समयसम्म कहाँ राखिएको थियो भन्ने बारेमा पत्ता लागेको थिएन। जापान सरकारले उनी सुरक्षित रहेको बुधबार जानकारी दिएको थियो। उनी बिहीबार अबेर राति जापान फर्किने एनएचकेले जनाएको छ।

जापान फर्किन पाएकोमा आफूलाई निकै खुशी लागेको उनले बताएका छन्। ४४ वर्षीय यासुदाले तत्काल आफूले के गर्ने भन्ने प्रष्ट नभएको बताए।

मुक्त गरिएपछि एक कारबाट सिरियाको सीमा क्षेत्रमा लगिएको र त्यहाँ टर्कीका अधिकारीहरुलाई जिम्मा लगाइएको यासुदाले एनएचकेलाई बताएका छन्।

बुधबार जापान सरकारले सिरियाली आतङ्ककारीहरुले मुक्त गरेका व्यक्ति यासुदा नै भएको पुष्टि गरेको थियो। जापानी विदेशमन्त्री तारो कोनोले बुधबार भएको एक पत्रकार सम्मेलनमा यासुदा सुरक्षित रहेका र उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ