arrow

मन्त्री रघुविर महासेठको बलमा वडा अध्यक्षले भत्काएको विद्यालयका विद्यार्थी सडकमै पढाइ गर्दै

वडा अध्यक्षको सम्पति जोगाउन विद्यालय भत्काइयो, विरोधमा सडकमा पठनपाठन सुरु

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
school-in_road-janakpur.jpg

जनकपुरधाम। उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षा कोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन थालेका छन्।

वैशाखको पहिलो साता मध्यरातमा उपमहानगरपालिकाले सडक विस्तारका नाममा डोजर लगाई विद्यालयको छ वटा कक्षाकोठा भत्काएपछि करिब ६०० विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए। 

दशैँ बिदापछि पहिलो पटक विद्यालय खोल्नासाथ उपमहानगरपालिकाको विरोधमा विद्यालय अगाडि नै डेस्कबेञ्च राखेर विद्यार्थीले पठनपाठन गरी विरोध जनाए। विद्यार्थी विरोध गर्दै सडकमा उत्रेपछि शिक्षकसमेत सडकमै दुई घण्टी कक्षा लिएका थिए। सडककै छेउमा रहेको विद्यालयका विद्यार्थीले सवारी साधनका ध्वनि र धुलोबाट प्रभावित भई विभिन्न  रोगको सिकार हुन थालेकाले विरोधमा विद्यार्थी आन्दोलनमा उत्रेको विद्यालय सुधार समितिका अध्यक्ष भोगेन्द्र रायले बताए।

उपमहानगरपालिकाले यथाशीघ्र भत्काएको संरचना तयार नगरे आफूहरु सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उनको चेतावनी थियो। वडा  अध्यक्ष  रामेश्वर महासेठले आफ्नो नातामा पर्ने भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको बलमा विद्यालय भवन भत्काउन लगाएको विद्यालयका प्रअ यादवले आरोप छ। वडाअध्यक्ष महासेठले आफ्ना नातागोताका व्यक्तिको जग्गा जोगाउन जबर्जस्ती विद्यालयको संंरचना भत्काएको यादवले बताए।

यता कुर्थाका स्थानीयले जनप्रतिनिधि भएर विद्यार्थीको भविष्यसँग खेलबाड गर्दै सार्वजनिक सम्पत्ति मासेको आरोप लगाएका छन्। स्थानीय चेतनारायण साहले सडकमै रहेको वडा कार्यालय जोगाउन वडाध्यक्ष महासेठले विद्यालय भवन भत्काएर विद्यार्थीको भविष्यसँग खेलबाड गरेको बताए।

वडाध्यक्ष महासेठले आफूले विद्यालय भवन भत्काउन नलगाएको दाबी गरे। विद्यालयका प्रअ आफैँले डोजर लगाई विद्यालय भवन भत्काएको उनको आरोप छ। तर वडाध्यक्ष महासेठ आफैँ उभेर विद्यालय भवन भत्काउन लगाएको तस्बीर  आफूहरुसँग रहेको स्थानीयले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ