ओली-प्रचण्ड जस्तै देउवा-पौडेल मिल्नुपर्छ : कांग्रेस प्रवक्ता शर्मा
रासस,
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
317
Shares
बनियानी। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको प्यारो हुन कांग्रेसले कांग्रेसलाई राम्रो देख्नुपर्ने बताएका छन्। कांग्रेस शिवसताक्षी नगर समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘दशैँ, तिहार एवं छठ पर्वको शुभकामना तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम’मा उनले कांग्रेसले कांग्रेसलाई राम्रो नदेखेसम्म जनताको प्यारो हुन नसक्ने बताए।
प्रवक्ता शर्माले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिले जसरी नै शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिल्नुपर्नेमा जोड दिए। “एकअर्काको आलोचना नगरी टीम स्पिरिट बनाएर अघि बढे कांग्रेस बलियो पार्टी बन्छ”, उनले बताए।
कार्यक्रममा एक सय ७० जना ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो। नगर संयोजक पर्शुराम ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य देउमान थेवे, भक्ति सिटौला, कांग्रेस नेता ओम सरावगीलगायतले शुभकामना मन्तव्य राखेका थिए।