arrow

'मलाई कुनै शङ्का छैन, तपाईहरु सबै समृद्ध नेपालको पक्षमा हुनुहुन्छ' : अध्यक्ष प्रचण्ड

logo
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
pachanda-indian-foundation.jpg

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धिको दिशामा केन्द्रित गर्न प्रतिबद्ध रहेको बताए। भारतको राजधानी नयाँ दिल्लीमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘नागरिकको घोषणापत्र : विचार मन्थन’ विषयमा आज प्रवचन दिँदै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणामार्फत गरीबी, अशिक्षा, भोकमरीबाट मुक्त गर्ने र विकासका आवश्यकता परिपूर्तिका लागि साधन तथा स्रोतको परिचालनमा विशेष ध्यान दिइएको बताए।

संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक सङ्क्रमणकालको अन्त्य गरिएको, तीन तहै निर्वाचनपश्चात् राजनीतिक स्थिरता कामय भएको जानकारी दिँदै उनले विकास र समृद्धिका लागि आफूहरु दृढताका साथ अगाडि बढेको स्पष्ट पारे।

नेपाली जनताको भावना र आकांक्षाअनुसार संविधानमा सुधार गर्न सकिने बताउँदै अध्यक्ष प्रचण्डले संविधानले नागरिक मूल्य र मान्यता तथा राष्ट्रिय पहिचानलाई दरिलोसँग ग्रहण गरेको दाबी गरे।

सशस्त्र जनयुद्धमार्फत उठेको जनताको मनोबल ऐतिहासिक शान्ति सम्झौतामार्फत संस्थागत भएको भन्दै उनले सामाजिक, राजनीतिक मागलाई संविधानमार्फत जनताले स्वामित्व लिएको बताए।

आफूले राजनीतिक उतारचढावलाई नियालेको प्रष्ट पार्दै उनले ऐतिहासिक शान्ति प्रक्रिया तथा प्रजातान्त्रिक परिवर्तनलाई ‘नागरिक घोषणापत्र’ मार्फत संस्थागत गरेको स्पष्ट पारे। विकासको गतिलाई माथि उठाउन छिमेकी तथा विश्वका भाइचाराको महत्वपूर्ण सहयोग प्राप्त भएकोप्रति आभार व्यक्त गर्दै उनले त्यस्ता सहयोग निरन्तर रहने बताए।

उनले भने, “मलाई कुनै शङ्का छैन, तपाईहरु सबै शान्त र समृद्ध नेपालको पक्षमा हुनुहुन्छ। नेपालले शान्ति, स्थायित्व र समृद्धिका दिशामा दक्षिण एशिया मात्र नभई विश्वलाई नै योगदान दिन सक्छ।”

उनले नेपाल र भारतबीच ऐतिहासिक वास्तविकता रहिआएको उल्लेख गर्दै भने, “हामीहरु भौगोलिक, धार्मिक, सांस्कृतिक एवं व्यापारिक दृष्टिकोणले एक आपसमा बाँधिएका छौँ। हामी छिमेकी मात्रै होइनौँ, नजिकको मित्र पनि हौँ।”

अध्यक्ष दाहालले जनता–जनताबीचको अन्तक्र्रिया आदानप्रदान दुई देशबीचको अलौकिक सम्बन्धको चूरो भएको बताउँदै यसलाई सौहाद्र्र, हार्दिकता, सहकार्य, समान सार्वभौमिकताप्रतिको आपसी सम्मानको जगलाई थप बलियो बनाउनुपर्ने बताए।

नेपाल र भारतले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उनले भने, “समयको बहाव तथा जनताको आकांक्षाअनुसार सम्बन्धले थप नयाँ उचाइ लिनेछ।” अध्यक्ष दाहाल आज बिहान मात्रै सोही सम्मेलनलाई सम्बोधन गर्न नयाँ दिल्ली प्रस्थान गरेका हुन्।


अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको एक दिने भ्रमण सम्पन्न गरी आज राति स्वदेश फर्किएका छन्। इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भाग लिन भारतको नयाँदिल्ली आजै प्रस्थान गरेका अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गरेका थिए।

उनले नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिएको नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए। फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ