‘प्रधानमन्त्रीको भाग्य खराब’, पार्टी एकतापछिको पहिलो चियापानमै सरिक हुन सकेनन्
प्रकाशित २०७५ कार्तिक १० शनिबार
461
Shares
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफैले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् ।
(नेकपा)ले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो । विपक्षी दलका प्रमुख नै सहभागि भएको कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागि भएनन् ।
चियापानमा सहभागि भएकालाई पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरे ।
नेकपाले निमन्त्रणामै राजनीतिक दलका नेतालाई आउने समय नै ३ बजे तोकेको थियो । प्रधानमन्त्री ओली पनि ३ बजे आउने भनियो । तर, अन्तिम समयमा आएर उपस्थित भएनन् । महासचिव विष्णु पौडेलले पत्रकारलाई भने, ‘अस्वस्थ भएपछि आउन सक्नु भएन ।
भौतिक रुपमा उपस्थित नभएपनि भावनात्मक रुपमा उपस्थित हुनुहुन्छ ।’ नेकपाले यसलाई पार्टी एकतापछिको पहिलो चियापान भन्दै भव्य बनाउने भनी ५० हजारलाई निम्तो दिएको थियो । हुँदा हुँदा स्वतन्त्र मधेस गठबन्धन चलाउने सीके राउत र विप्लव समूहलाई समेत निम्तिो दिएको भनि खबरहरु आएका थिए ।