arrow

धनुषाको हंसपुर नगरपालिकाको आर्थिक अनियमितताको लिष्ट कांग्रेसले गर्‍यो सार्वजनिक

logo
राजन सिंह,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
nc-dhanusa-hansapur.jpg

धनुषा। धनुषाको हंसपुर नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै नेपाली कांग्रेस हंसपुर नगर समिति विरोधमा उत्रिएको छ। 

शनिवार नगरपालिकाको बघचौडामा पत्रकार सम्मेलनको आयोजना गरि कांग्रेसले आ.व.२०७४/७५ को बजेटमा करोडौंको अनियमितता भएको दाबी गरेको छ।

नेपाली कांग्रेसबाट सो नगरपालिकाका उम्मेदवार रहेका प्रदिप यादवले नगरपालिकामा भएको विकास निर्माणमा २ करोडभन्दा बढीको अनियमितता भएको दाबी गरे।

नेपाली कांग्रेसले हंसपुर नगर क्षेत्रभित्र भएको विकास निर्माण कार्यको अनुगमन समिति मार्फत गरेको स्थलगत निरिक्षणमा उक्त अनियमितता भएको पाईएको छ। स्थलगत अनुगमनमा ८ करोडभन्दा बढीको कागजी कारोवार भएको ठहर गरेको छ।

नगरपालिकाको स्थायी र अस्थायी प्राविधिक नभएको र हचुवाको भरमा लागत स्टीमेट मूल्यांकन गरी रकम हिनामिना गरेको यादवले बताए।

हंसपुर नगरपालिकाका मेयर रामज्ञान मंडलको मिलोमतोमा व्यापक आर्थिक अनियमितता गरिएको आरोप नेपाली कांग्रेसको रहेको छ ।

नगर क्षेत्रभित्रको वडा नं. १ देखि ९ सम्मको हरेक योजनाको स्थलगत रुपमै अनुगमन गरी धेरै कम योजना कार्यान्वयन भएको र अधिकांश योजनामा काम नगरि रकम निकासा गरिएको पाइएको कांग्रेसले जनाएको छ।

अनुगमन टोलीले योजनाको निरिक्षण गर्दा अधिकांश अधुरो कार्य र अनियमितता देखिएको ठहर समेत गरेको छ । वडा नं. ३ स्थित कुम्हरा टोलको मन्दिर जिर्णोद्वारमा १० लाख निकासा गरिएपनि सो निर्माण कार्यमा ३ लाखभन्दा बढि खर्च नभएको टोलीले बताएको छ। सो योजनामा अनियमितता प्रकरणको निवेदन अख्तियारमा समेत परेको छ। 

त्यसै गरि वडा नं. ३ स्थित पूरानो वडा कार्यालय मर्मतमा ७ लाख खर्चेको देखाएपनि ३ लाख भन्दा बढि खर्च नभएको अनुगमन टोलीले जनाएको छ।

पत्रकार सम्मेलनमा जानकारी गराउंदै यादवले आफुहरुले नगर प्रमुखसँग ०७४/७५ को विकास निर्माणको अनुगमन प्रतिवेदन मागेपनि नगरपालिकाद्वारा गठित अनुगमन टोलीले हालसम्म अनुगमन प्रतिवेदन नबुझाएको जनाईएको छ।

नेपाली कांग्रेसका नगर संयोजक जय नारायण कापडीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादव, नेपाली कांग्रेस धनुषा पुर्व सचिव राजकिशोर सिंह, पुर्व जनकपुर नगर सभापति धिरेन्द्रमोहन झा, भुपनारायण यादव, पुर्व क्षेत्रिय अध्यक्ष रामकृष्ण मंडल सहितका नेपाली कांग्रेस नेता कार्यकर्ताहरु लगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ