गोप्य सयन कक्ष हैन सरकारी कार्यालय, पत्रकारमाथि धम्की
संचारकर्मी धम्क्याइएकोप्रति प्रेस युनियनको आपत्ति
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
292
Shares
काठमाडौं । समाचार संकलनका क्रममा यातायात व्यवस्था विभागमा पुगेका सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुर्व्यवहार गर्दै धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियन कडा शब्दमा विरोध गरेको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेका छन् ।
यस्तो छ विज्ञप्ति
मितिः २०७५ कार्तिक ११
प्रेस विज्ञप्ति
समाचार संकलनका क्रममा यातायात व्यवस्था विभागमा पुगेका सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुर्व्यवहार गर्दै धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियन कडा शब्दमा विरोध गर्दछ। सार्वजनिक सेवाको क्षेत्र र त्यहाँबाट दिइने सेवाको विषयलाई समाचार बनाउन पनि पूर्व अनुमति लिनुपर्ने भन्दै धम्क्याइनु निन्दनीय छ। सार्वजनिक सेवाको क्षेत्र आम नागरिक र सेवाग्राहीको पहुँचमा हुनुपर्नेमा यातायात व्यवस्था विभागका उच्च अधिकारीको तहबाटै गरिएको हर्कत सार्वजनिक सेवाको क्षेत्रलाई आम नागरिकको पहुँचबाट टाढै राख्न खोजिएको वा नियन्त्रण गर्न खोजिएको रुपमा युनियनले लिएको छ। जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यलय गोप्य सयन कक्ष हैन भन्ने कुरा निर्देशक साहले बुझेर पनि बुझ पचाएको देखिएको छ। व्यक्तिगत प्रयोगजनमा नभइ सार्वजनिक गर्ने उदेश्यले खिचिएका तस्विर तथा दृश्यमा मुलुकी संहिताको देवानी र फौजदारी कानुनलाई दुरुपयोग गर्ने आसयलाई गलत व्याख्या गरेर सञ्चारकर्मीलाई हतोत्साहि बनाउने कार्यको युनियन निन्दा गर्दछ। सञ्चारकर्मीलाई हतोत्साहित गर्ने धम्क्याउने लगायतका पदिय मर्यादा विपरितका काम गर्ने निर्देशक साहलाई आफ्नो कमजोरी स्विकार्दै क्षमायाचना गर्न युनियन आग्रह गर्दछ। अन्यथा युनियन निर्देशक साहको कार्यको भण्डाफोर गर्दै सार्वजनिक रुपमा प्रतिवादमा उत्रने चेतावनी दिन चाहन्छ। धन्यवाद। जय नेपाल।
अजयबाबु शिवाकोटी
महासचिव