arrow

ब्रजिल निर्वाचन : जेयर बोल्सोनारो राष्ट्रपतिमा विजयी हुने सम्भावना

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
jair-bolsonaro-brazil.jpg

रियो डे जेनेरियो। ब्राजिलमा आइतबार राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान हुँदैछ। यो निर्वाचनमा अनुदारवादी भनेर चिनिएका र सैनिक पृष्ठभूमि भएका जेयर बोल्सोनारो राष्ट्रपतिमा विजयी हुने अनुमान गरिएको छ।

महिला, समलिङ्गी र काला जातिमाथि नकारात्मक टिप्पणी गर्न रुचाउने बोल्सोनारोले बामपन्थी विचारधाराका फर्नान्डो हडाडलाई पराजित गर्न सक्ने मत सर्वेक्षणले देखाएका छन्। शनिबार सार्वजनिक दुईवटा मत सर्वेक्षणमा बोल्सेनारोले करिब ५५ प्रतिशत मत प्राप्त गर्ने सक्ने उल्लेख छ।

साओ पाउलोका पूर्व प्रमुख (मेयर) समेत रहेका हडाडले अन्तिम चुनावी सभामा सम्बोधन गर्दै चुनाव नजिकिँदै गर्दा आफ्नो पक्षमा जनताको समर्थन बढ्दै गएको बताए। उक्त सभामा हजारौं सहभागी भएका थिए।

बोल्सोनारोले भने सामाजिक सञ्जाल मार्फत आमजनतालाई सम्बोधन गरेका छन्। गत महिना पेटमा घातक चक्कु आक्रमण भएपछि उनले सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसार गरिरहेका छन्। उनी तीन सातासम्म उपचारका लागि अस्पताल भर्ना भएका थिए। भ्रष्टाचार, कुशासन र हत्याहिंसाका कारण दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलका आमजनतामा चरम नैराश्यता छ। उनीहरु परिवर्तनको पक्षमा उभिएको देखिएको छ।

राष्ट्रपतिका उम्मेदवार हडाड मात्र होइन उहाँको वर्कर्स पार्टीको छवि समेत पछिल्ला वर्षहरुमा कमजोर भएको छ। हडाडलाई भ्रष्टाचारको आरोपमा हाल जेलमा रहेका पूर्व राष्ट्रपति लुइस इनारियो लुला डी सिल्भाको समेत समर्थन छ। लुला सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति थिए।

लुला ब्राजिलको सर्वाधिक लोकप्रिय राजनीतिज्ञ हुन्। ब्राजिलको सबैभन्दा ठूलो तेल कम्पनी पेट्रोब्रासबाट भ्रष्टाचार गरेको आरोपमा लुला हाल १२ वर्षका लागि जेलमा छन्। वर्कर्स पार्टीका संस्थापक समेत रहेका लुलालाई अदालतकै आदेशमा यस पटक चुनाव लड्न दिइएको थिएन।

लुलाको झैं सशक्त नदेखिएका हडाडले पार्टीलाई एकताबद्ध गराउन सकेका छैनन्। उनकै कमजोरीका कारण विपक्षी बोल्सोनारोले मतदातालाई आकर्षित गरेको बताइन्छ। पूर्व सैनिक अधिकृत बोल्सोनारोले सत्ताको बागडोर पाए के गर्लान् भन्ने सर्वत्र चासो र चिन्ता बढेको छ।

बोल्सोनारोको नारा भने फरक छ। उनी सन् १९६४ देखि १९८५ को अवधिका सैनिक सरकारले गरेको औद्योगिकीकरणलाई मुक्तकण्ठले प्रशंसा गर्छन्। विगतका सैनिक सरकारले गरेका सबै कार्यहरुको बोल्सेनारोले स्वागत पनि गरे।

बोल्सेनारोले विगतका सैनिक सत्ताले बामपन्थी विद्रोही र उनीहरुका समर्थकहरुलाई हत्या गर्नुको साटो यातना मात्र दिएको बताउने गरेका छन्। उनका धारणा र विचारहरुलाई मानिसले बढी रुचाएका छन्। ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा १४ करोड ७० लाख मतदाता रहेका छन्। ब्राजिलमा मतदानलाई बाध्यकारी बनाइएको छ। मतदान सकिएलगत्तै मतगणना शुरु हुने निर्वाचन आयोगले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ