प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने
प्रकाश सिलवाल,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
368
Shares
काठमाडौँ । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनको शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिई सूक्ष्म अवलोकनका लागि राखिएको हो । गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य भएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीलाई सोमबार बिहान ०४:३० बजे उक्त अस्पतालको ‘मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा राखिएको छ ।
सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले उनको छातीमा भएको सङ्क्रमणमा क्रमिक सुधार आएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए। प्रा.डा श्रेष्ठले केही दिनमै प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी निवास फर्कने अपेक्षा गरे। अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे दैनिक दुई पटक प्रेस विज्ञप्तिमार्फत जानकारी दिने जनाएको छ ।
प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिष्ट डा अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ । डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा चिनी (सुगर) को मात्रा गए राति ३०० मिलिग्राम देखिएकामा अहिले क्रमशः सन्तुलित हुन थालेको छ ।
प्रधानमन्त्रीलाई उपचारका लागि विदेश लैजानुपार्ला नपर्ने चिकित्सक डा सिंहले बताए । डा सिंहले ओलीलाई एमसिसियुमा राख्नुपर्ने अवस्था नरहे पनि भेटघाटका लागि आउने भीडका कारण थप सङ्क्रमण हुन सक्ने भएकाले उक्त कक्षमा आराम गराई उपचार गराइएको जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मौसमी रुघाखोकी र हल्का ज्वरो कम नभएकाले प्रधानमन्त्री ओली बिहान आफैँ गाडीमा बसेर अस्पताल जानुभएकाले उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताए।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत वरिष्ठ नेताहरु तथा मन्त्रिगण अस्पताल पुगेका थिए । उनलाई भेटेर फर्किएका नेकपाका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओली कुराकानी गर्ने र आफैँ शौचालय जानसक्ने अवस्थामा रहेको बताए । अस्पताल पुगेका नेकपाका नेता केशव बडालले भने उपचारमा रहेका प्रधानमन्त्रीलाई भेट्न जाने भीडभाडले गर्दा थप सङ्क्रमण हुनसक्ने भएकाले आरामका साथ उपचार गर्न दिइनुपर्ने बताए।
मिर्गौला प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्री ओली विगतमा ‘फलोअप’ का लागि थाइल्याण्डको बैंकका जाने गर्थे । दशैँमा गृहजिल्ला झापा पुगी फर्किएर काठमाडौँ टीकाटालो गर्नुका साथै कार्यकर्ता र सर्वसाधारणलाई दैनिक टीका लगाएका कारण उनलाई धपेडी भएको थियो । त्यहीबीचमा नेकपा सचिवालयको बैठकमा उनि सहभागी भएका थिए । अस्वस्थताका कारण प्रधानमन्त्री ओली नेकपाले यही कात्तिक १० गते आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित भए । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने मित्रराष्ट्र कतारको औपचारिक भ्रमण स्वीकृत गर्नेलगायत कार्यसूचीका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको थियो । रासस