गृहप्रशासन असक्षम भएको पूर्व गृह राज्यमन्त्री कंडेलको आरोप
अनिशेष केसी,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
404
Shares
रुकुम । वर्तमान सरकारले नागरिकलाई शान्ति सुरक्षा दिन नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् देबेन्द्रराज कंडेलले अरोप लगाए । विभिन्न ठाउँमा भइरहेका हत्या, हिंसा र बलात्कारका घटनाका दोषिलाई पक्राउ गर्न नसक्नुने वर्तमान सरकार शान्ति सुरक्षामा असक्षम भएको प्रष्ट हुने उनको दावि थियो ।
सोमबार नेपाल प्रेस युनियन रुकुम (पश्चिम) शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद् पूर्व गृहराज्य मन्त्री समेत रहेका कंडेलले गृह प्रशासनकै असक्षमताका कारण अपराधीले उन्मुक्ती पाएको आरोप लगाए । अपराधीलाई सजाय दिनुको सट्टा उल्दै सरकारले नै संरक्षण गरेको उनले अरोप समेत लगाए ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई लामो समयसम्म पनि सार्वजनिक गर्न नसकेको भन्दै उनले सरकारको चर्को आलोचना समेत गरे ।
अपराधी सार्वजनिक नभसम्म अब सञ्चालन हुने संसद् बैठक चल्न नदिने सांसद् कंडेलको भनाई थियो । अपराधीलाई पक्राउ गरेर सार्वजनिक गर्नुको सट्टा त्यहाँ कार्यरत एसपी डिल्लीराज विष्टलाई बर्खास्त गर्दैमा पिडित परिवारले न्याय नपाउने उनको भनाई थियो । घटनाको वास्तविकता लुकाउन एसपी विष्टलाई बर्खास्त गरिएको भन्दै उनले सरकारको आलोचना समेत गरे ।
सांसद् कंडेलले अहिलेको वर्तमान सरकार पतनको बाटोमा गएको जिकिर गरे । दुई तिहातको सरकारले अहिलेसम्म एउटा पनि राम्रो काम नगर्नुले आफ्नै चुनावमा घोषणा गरेका प्रतिबद्धता समेत बिर्सीएको प्रष्ट हुने उनको भनाई थियो । वर्तमान सरकारले अहिलेसम्म सम्झनलायक एउटा पनि राम्रो काम नगरेकाले अब गर्ने आशा समेत नरहेको उनले बताए ।
सरकारले चीन र भारतबाट रेल ल्याउने भनेर चर्चामात्रै गरेको र यसबाट समृद्ध नआउने उनको भनाई थियो । भाषण गरेरमात्रै रेल नआउने भएकाले यसका लागि प्राविधिक पक्ष लागत अन्य विषयमा कुनैपनि छलफल तथा अध्ययन नभएको सांसद् कंडेलको भनाई छ । प्रधानमन्त्री ओली र उनको सरकार अहिले सफल हुने दिशामा नरहेको समेत उनले स्पष्ट पारे ।
फरक प्रसंगमा पूर्वगृह राज्यमन्त्री समेत रहेका सांसद् कंडेलले १० वर्षसम्म एउटा सिद्धान्त, आदर्श र बिचारका नाममा युद्व गरेको पूर्व माओवादी केन्द्रका नेताहरुले द्वन्द्व गलत थियो भनेर स्वीकार गर्नुपर्ने बताए । आफ्नो बिचारलाई छोडेर एमालेमा बिलय हुनुथियो भने किन युद्वको नाममा १७ हजार नेपाली मारेको ? भन्दै उनले प्रश्न समेत गरे ।
त्यो बेला भएको लडाई कुनै सिद्धान्त, आदर्श र बिचारको भन्दा पनि आतंक मच्चाएर पैसा उठाउने अनि राताराध धनी बन्ने काम मात्र भएको प्रष्ट हुने उनको आरोप थियो । कुर्सी र सत्ताको लागि माओवादी पार्टी एमालेमा बिलय भएको उनले जिकिर गरे ।
केन्द्रीय सदस्य कंडेलले पार्टीभित्र अहिले आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने मुख्य चुनौति रहेको बताए । त्यसैले काँग्रेमा अब सबै पदाधिकारी, केन्द्रिय समितिलगायतमा प्रत्यक्ष निर्वाचित प्रणाली स्थापित गर्नुपर्नेमा उनको जोड थियो । पार्टीको विधान संशोधनको लागि काम भइरहेको र मंसिरमा बस्ने महासमितिको बैठकले विधान संशोधन गरेपछि पार्टीलाई नयाँ गतिमा अगाडी बढाउने उनको भनाई थियो ।