राष्ट्रपति भण्डारी दोहामाः मन्त्रीद्वारा विमानस्थलमा स्वागत
दीपेन्द्र अधिकारी,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
339
Shares
कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको शिलशिलामा सोमबार दोहा आइपुगेकी छिन् ।
राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमीले स्वागत गरेका थिए । मन्त्री अलनोएमीले स्वागत गर्नु अघि विमानबाट ओर्लिए लगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।
मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि कतार भ्रमणमा छिन् ।
राष्ट्रपति भण्डारी विमानस्थलबाट सिधै उनलाई आतिथ्यको व्यवस्था मिलाइएको होटल शेराटोन ग्राण्ड प्रस्थान गरेकी छिन् । आजै राष्ट्रपति भण्डारीको सम्मानमा यहाँस्थित राजदूतावासले रात्रिभोजको आयोजना गर्दैछ । रासस