प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, देउवा र नेपालले लिए जानकारी
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
549
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे सोमबार साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै प्रा डा सायमीले भने।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री ओलीलाई भेटेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई आजै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिए। उनलाई छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा आज बिहान ०४:३० बजे भर्ना गरिएको थियो । रासस