कांग्रेस चियापान अहिलेसम्मकै भब्य, ५० हजार बढी केन्द्रमै
पछि हटे उपराष्ट्रपति
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
867
Shares
काठमाडौं । नेपाली काँग्रेसको चियापान कार्यक्रम अहिलेसम्मकै भब्य हुने भएको छ । कार्तिक १६ गते शुक्रबार काँग्रेसले देशैभर एकैपटक चियापानको आयोजना गर्दैछ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार दिउँसो १ बजे देशभर चियापान हुनेछ ।
केन्द्रमा तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मिलेर काँग्रेस मुख्यालय विपीनगर, सानेपामा विशेष चियापान कार्यक्रम आयोजना हुनेछ ।
यो विशेष चियापानका लागि १५ हजार निमन्त्रणा कार्ड बाँडिएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिपक्ष दलका नेता तथा कार्यकर्ता, सरकारी प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि लगायतका लागि १५ हजार कार्ड बाँडिएको हो ।
काँग्रेसका नेता तथा कार्यकर्ताका लागि कार्ड छैन । पौडेल भन्छन् –आयोजक नै काँग्रेस भएपछि आफूलाई नै के को कार्ड । सबै आयोजक ।
पौडेलले पार्टी मुख्यालयमा हुने चियापानमा झण्डै ५० हजार जनाको सहभागीता रहने छ ।
विपीको मेलमिलाप नीति अन्तर्गत काँग्रेसले चाडपर्वको अवसर पारेर हरेक वर्ष चियापान गर्दै आएको छ ।
दशैंको पूर्णिमाका दिन हुने चियापान यसपटक भने काँग्रेसका प्रभावशाली नेता चक्रप्रसाद बास्तोलाको निधन भएका कारण पछाडि सरेको हो ।
यसकारण अहिलेसम्मकै भब्य
काँग्रेस प्रवक्ता शर्माका अनुसार ३ जिल्लाको आयोजनामा ललितपुरको सानेपामा कार्यक्रम भइरहँदा सोही समयमा बाँकी रहेका ७४ जिल्लाले सदरमुकाममा चियापानको आयोजना गर्नेछन् ।
केन्द्रमा मात्र मेलमिलापको नीति अपनाएको काँग्रेसले यसपटकदेखि स्थानीय तहलाई पनि केन्द्रबिन्दू बनाएको छ ।
प्रवक्ता शर्माले सबैलाई समेट्ने उद्धेश्यले यस पटकदेखि जिल्लाहरुमा पनि चियापान राखिएको बताए ।
उनले भने, ‘काँग्रेसले एकताको सन्देश दिनलाई नै सबै ठाउँमा एउटै समयमा चियापानको आयोजना गरेको हो ।’
हच्किए उपराष्ट्रपति
काँग्रेसको चियापान समारोहसंग आफ्नो कार्यक्रम जुध्ने भएपछि उपराष्ट्रपति नन्दबहादुर पुन हच्किएका छन् ।
काँग्रेसले लामो समय अगाडि देखि नै कार्तिक १६ गतेको मिति चियापानका लागि तोकेकामा उपराष्ट्रपति पुननले गत आइतबार ( ११ कात्तिक) मा मात्र १६ गते नै चियापानको आयोजना गर्ने निर्णय गरेका थिए ।
उच्च पदस्थ अधिकारीहरु नै दुवै निम्तोमा जानुपर्ने भएपछि त्यो आयोजना सोभनीय देखिएन ।
काँग्रेसले १ बजे निम्तो दिँदा पुनले २ बजेको कार्यक्रम सार्वजनिक गरेका थिए ।
तर काँग्रेसले कार्यक्रम जुध्यो भनी उपराष्ट्रपतिलाई जानकारी गराएपछि समय सार्न अनुरोध गर्दा पछि कार्यक्रम गर्ने उपराष्ट्रपतिले बताएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव पौडेलले हाम्राकुरालाई बताए ।
उपराष्ट्रपतिले आफूलाई काँग्रेसको पनि सोही दिन कार्यक्रम छ भन्ने हेक्का नभएको प्रतिक्रिया दिएका थिए ।
उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा १६ गते २ बजेको चियापानका लागि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिने जनाइएको थियो ।
त्यही लिष्ट काँग्रेसको पनि थियो । काँग्रेसको योजना थाहा पाएपछि पुनले कार्यक्रम पछि सारेका छन् ।