बाजुरा । साँफेबगरदेखि बाजुरा सदरमुकाम मार्तडीसम्मको सडकअन्तर्गत गुइगाड खोलाको पुल संचालनमा आएको छ। निर्माण कार्य सुरु भएको ८ वर्षपछि उक्त पुल सञ्चालनमा आएको हो। साँफेबगरदेखि सदरमुकाम मार्तडीसम्म जोड्ने मुख्य सडकका बीचमा पर्ने उक्त पुलको निर्माण कार्य २०६८ सालबाट सुरु भएको थियो।
पुल निमार्णका लागि २०६८ सालमा ठेक्का लागेको पुलको २०७० असार मसान्तसम्म काम सक्नुपर्ने सम्झौता भएपनि एक वर्ष (२०७२)मा म्याद थप गरिएको थियो। २०७० साउन मसान्तभित्र काम पूरा नभएपछि सडक विभागले पुन: कामगर्ने गरी सोही रकममा कम्पनीलाई म्याद थप गरेको थियो।
गुईगाड खोलाको पुल सञ्चालनमा आएपछि सवारी साधानले खोलाबाटै पार गर्नुपर्ने जोखिम हटेको छ। पुल संचालनमा आएपछि सोही पुलहुँदै मार्तडीसम्म भित्रिने र बाहिरिने सवारी साधन सञ्चालनमा सहज भएको छ।
पुल निर्माणको ठेक्का कन्ट्रक्सनका भीम साउँदले लिएका थिए।पुल निर्माणका लागि ७ करोड, ४६ लाख, सातहजार खर्च भएको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिएका हुन्।