चुरे विनाश राष्ट्रिय समस्या :पूर्व राष्ट्रपति डा यादव
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
545
Shares
धनुषा । पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
मंगलबार जनकपुरस्थित सिद्धार्थ शिशु सदनमा आयोजित ‘सफा जनकपुर हरित जनकपुर तथा चुरे संरक्षण’ अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै नेपालको प्रथम तथा पूर्व राष्ट्रपति डा रामवरण यादवले भने, “चुरे विनाश गर्नुमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जवाफदेही रहेको छ ।”
डा यादवले भने, “बाटो निर्माण गरिनु विकास गर्नु हो तर अर्कोतर्फ तीव्र गतिमा चुरे विनाश हुँदैछ ।” चुरे संरक्षणका लागि नदीको दोहन, वनजङ्गल फँडानी, जङ्गल क्षेत्रमा अवैध वस्ती निर्माणजस्ता कार्यलाई रोक्ने, नयाँ वन लगाउने, चुरेको पहाडी भू–भागको संरक्षण गर्नुपर्ने मुख्य कार्य सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार रहेको बताउँदै उहाँले चुरे क्षेत्रमा बसोवास गर्नेलाई चुरे जोगाउन प्रेरित गर्नुपर्ने बताए ।
डा यादवले तीनै तहको सरकारले वन क्षेत्रमा व्यापक वृक्षरोपण अभियान, नदी नियन्त्रण, नदीमा रहेका क्रसर हटाइनु पर्ने लगायतका काम प्राथमिकतामा राखेर गर्नुपर्ने स्थिति रहेको छ ।
चुरे विनाशकै कारण तराईमा पानीको गम्भीर सङ्कट उत्पन्न भइरहेको र खेतभन्दा नदीको सतहमाथि हुँदै गएकाले बाढी र सुख्खाको मारमा तराई–मधेश परेको डा यादवले उल्लेख गरे । कार्यक्रममा ‘सफा जनकपुर हरित जनकपुर’ अभियानलाई सफल बनाउन डा यादवले कपडाको झोलासमेत वितरण गरे।