प्रचण्ड नै ओली सरकारलाई अगाडि बढ्न नदिने दाउमा – पौडेल
उत्तम चौलागाँई,
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
309
Shares
खोटाङ। कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेकपाको एकता बाँडीचुडी खाने मेलोमात्र भएको आरोप लगाएका छन् । पौडेलले एकताको वहानमा राज्यकोषलाई मिलीजुली खाने मेलोमात्र बनाएको आरोप लगाएका हुन ।
नेपाली कांग्रेस जन्तेढुङगा गाउँपालिका कार्य समिति खोटाङले आयोजना गरेको जननायक विश्वेश्वर प्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई संवोधन गर्दै पौडेलले संसारमा एउटै पार्टीका दुई अध्यक्ष भएको देश नेपालमात्र भएको र मिलीजुली खानलाई नेकपाको एकता भएको, केन्द्रमा एकता भएपनि तल्लो तहमा हालसम्म एकतामा समस्या रहेको बताए ।
पौडेलले भने, “केपी ओली सरकालाई अगाढी बढ्न नदिने कांग्रेस नभई प्रचण्ड हुन। उनले आफु प्रधानमन्त्री बन्नका लागि नै केपी ओली सरकाई अगाडी बढ्न नदिने दाउमा छन् ।”
नेपाली कांग्रेस जन्तेढुङगा गाउँपालिका कार्य समिति खोटाङले चिसापानी बजारको बीचभागमा वीपीको अर्धकद शालिक निर्माण गरेको छ । उक्त स्थानमा वीपीको शालिक २०५४ सालमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले अनावरण गरेका थिए । तर, सशस्त्र द्धन्दको समयमा तत्कालिन बिद्रोही समूह खम्बुवानले २०५८ सालमा शालिक भत्काईदिएको थियो। वीपीको शालिक भत्काईएको लामो समयपछि कांग्रेसले फेरि शालिक निर्माण गरेर अनावरण गरेको हो ।