निर्मला हत्या प्रकरणः डिएनएमै घुम्यो अनुसन्धान, चार जनाको फेरि लिइयो नमुना
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
298
Shares
काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले फेरि डिएनए परीक्षणको सहारा लिएको छ । कञ्चनपुर भीमदत्तनगर–२ उल्टाखामकी १३ वर्षीया पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानका क्रममा अक्षम्य गल्ती गरेको भन्दै आलोचना खेपिरहेको प्रहरीले फेरि डिएनए परीक्षणको सहारा लिएको हो ।
प्रहरीले थप चार जनाको डिएनए नमुना लिएर राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाएको छ । तर, डिएनए नमुना लिइएकाहरुको नाम भने प्रहरीले सार्वजनिक नगर्ने भनेको छ । साविकको महाकाली अञ्चल अस्पतालमा लगेर प्रहरीले चार जनाको नमुना लिएको हो । अरुको पनि नमुना लिने तयारी प्रहरीले गरेको छ । कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले भने, ‘नमुना चार जनाको लिएर राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाएका छौँ । तर, उनीहरुको नाम सार्वजनिक गर्दैनौँ ।’ कारण ? जवाफमा उनले भने, ‘अनुसन्धानमा रहेका सबै कुरा अहिले नै भन्दैनौँ ।’
निर्मला हत्याको ३ महिना पुग्दा समेत अहिलेसम्म अनुसन्धानमा प्रगति हुन सकेको छैन । गृहमन्त्रालयले तत्कालीन कन्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई सेवाबाट निकालेको छ । अनसन्धानमा गल्ती गर्ने केही प्रहरी अधिकारी निलम्बनमा छन् । हत्याराबारे अहिलेसम्क कुनै सुराक मिलेको छैन ।
एसपी दुर्गासिंहको टोली अनुसन्धानमै छ । सिंहको साथमा ५–७ जनाको टोली छ । यस्तै, भरखरै डीआइजीमा बढुवा भएका ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोली पनि कञ्चनपुरमै छ । त्यो अनुसन्धान टोलीमा ज्ञवाली छैनन् । केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएका एक जना डिएसपीले नेतृत्व सम्हालिरहेका छन् । ती डीएसपीको नाम पनि भन्न मिल्दैन भन्छ, कञ्चनपुर प्रहरी । प्रगति के छ त ? ती टोलीको भनेर सोध्दा शून्य छ, भन्छन् डिएसपी ओझा।