काठमाडौं । दक्षिण कोरियाका राष्ट्रिपति मून जाइ इनले उत्तर कोरियन नेता किम जोन उनले अब छिटै नै दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन् ।
लामो समयदेखि तनावपूर्ण अवस्थामा रहेको दुई मुलुकहरुको सम्बन्धमा पछिल्लो समय भने सुधार आइरहेको देखिएको हो ।
किम जोन उनले दक्षिण कोरियन राष्ट्रपतिका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गरेपछि भने दुई मुलुकको सम्बन्धमा सुधार आएको हो ।
विहीबार दक्षिण कोरियन राष्ट्रपति मूनले अर्थव्यवस्थाको विषयमा दिएको भाषणको क्रममा भ्रमणको विषयमा अन्य विवरणहरु भने सार्वजनिक गरेका छैनन् । यसअघि नै किमले सन् २०१८ भित्र दक्षिण कोरियाको भ्रमण गर्ने बताएका थिए ।
मूनले उत्तर कोरिया र अमेरिकाको बीचमा दोस्रो शिखर बैठक पनि छिटै हुने बताएका छन् । उनले चिनियाँ राष्ट्रपति सि चिनफिङले उत्तर कोरियाको भ्रमण गर्ने अपेक्षा रहेको र किमले पनि छिटै रुसको भ्रमण गर्ने बताए ।